७ असोज, २०७७
भकुण्डेबेसी । काभ्रे जिल्लाको नमोबुद्ध नगरपालिकाले विश्व रेबिज दिवसको अवसरमा सप्ताहव्यापी कार्यक्रम सुरु गरेको छ ।
रेबिज सप्ताहअन्तर्गत नगरपालिकाले ‘रेबिजको अन्त्य सहकार्य र भ्याक्सिनेसन’ नारासहित मंगलबारदेखि एक सातासम्म रेबिजविरुद्धको निःशुल्क खोप लगाउन सुरु गरेको छ । मंगलबार नगरपालिकामा आयोजित एक कार्यक्रममा नगर प्रमुख टिपी शर्मा तिमल्सिनाले सेवाग्राहीलाई खोप कार्ड वितरण गर्दै रेबिज सप्ताहको सुरुवात गरेका हुन् ।
आजैदेखि नगरपालिकाको पशुपन्छी शाखाका प्राविधिकहरुले नगरबासीले ल्याएका कुकुरलाई रेविद्धविरुद्धको खोप लगाउन थालेको नमोबुद्ध नगरपालिका पशुपन्छी शाखाका प्रमुख चिरञ्जिवी शर्माले बताए ।

हरेक बर्ष सेप्टेम्बर २८ का दिन विश्वभर रेबिज विरुद्धको चेतनामुलक कार्यक्रम सहित विश्व रेबिज दिवस मनाउने गरिएको छ । शर्माका अनुसार नगरपालिकाले रेबिज विरुद्धको खोपसहित जुकाको औषधी समेत वितरण गर्न थालेको छ । हाललाई २ सय डोज भ्याक्सिन तयारी अवस्थामा रहेको र आवश्यकताअनुसार थप व्यवस्थापन गरिने शर्माले बताए ।
कोरोना भाइरस (कोभिड–१९)को महामारीका कारण नगरबासीको घरघरमा पुगेर घरपालुवा कुकुरलाई खोप लगाउन नसकिएको भन्दै शर्माले नगरपालिकाको पशुपन्छी शाखामा आउन पनि नगरबासीलाई आग्रह गरेका छन् । उहाँले छाडा कुकुरलाई पनि खोप लगाउने योजना रहेको जानकारी दिए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।