१२ असोज २०७७
रोशी । काभ्रे जिल्लाको रोशी गाउँपालिकामा अब आफ्नै प्रहरी रहने छ । आज गाउँपालिकाले गाउँ प्रहरी नियुक्ति गरेपछि आफ्नै प्रहरी रहने भएको हो ।
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ११ को उपदफा २ (१) ले दिएको अधिकार अनुसार गाउँ प्रहरीको व्यवस्था गरेको हो । त्यसै गरि सोही ऐनको आधारमा गाउँपालिकाले ‘गाउँप्रहरी सञ्चालन तथा व्यवस्थापन सम्बन्धी कार्यविधि–२०७७’ बनाई लागू गरेसँगै नगरप्रहरीको नियक्ति भएको छ ।

गाउँ प्रहरीले गाउँपालिकाको नीति, कानून, मापदण्ड तथा निर्णय कार्यान्वयन गर्ने गाउँपालिकाको सम्पत्तिको सुरक्षा र संरक्षण गर्ने, स्थानीय स्तरमा हुने सभा समारोह, परम्परा तथा जात्रा चाडपर्वको सुरक्षा व्यवस्थापन, स्थानीय बजार तथा पार्किङ्ग स्थलको रेखदेख र व्यवस्थापन, न्यायिक समितिले गरेका मिलापत्र तथा निर्णय कार्यान्वयन गर्ने लगायतका जिम्मेवारी गाउँ प्रहरीले पूरा गर्ने गाउँपालिका अध्यक्ष डिवि लामाले जानकारी दिए ।
संविधानले स्थानीय तहलाइ प्रदान गरेको एकल अधिकार २२ मध्ये नगर/गाउँ प्रहरी पनि रहेको छ । संविधानको कार्यान्वयनका सन्दर्भमा यो अधिकार आजबाट रोशी गाउपालिकाले खुल्ला प्रतिस्पर्धाबाट नियुक्त गरेका २ गाउँ प्रहरीलाई ड्रेस, दज्र्यानी चिन्ह सहित फिल्ड्मा खटाइ कार्यान्वयन गरेको प्रमुख प्रशासकिय अधिकृत डम्बरु दाहालले बताए ।
आर्थिक वर्ष २०७७/७८ को असार मसान्तसम्मको लागि करार सेवामा पालिकाले नियुक्ति गरेको गाउँपालिकाले जनाएको छ । सोही अनुसार आज नियुक्ति हुनेमा गाउँ प्रहरी कमाण्डर पदमा रोशी गाउँपालिका वडा नं. ११ का सुरज बहादुर रायमाझी र गाउँ प्रहरी जवान पदमा रोशी गाउँपालिका वडा नं. ७ का हरिहर गौतमलाई नियुक्ति गरिएको प्रशासन अधिकृत धनवीर लामाले जानकारी दिए ।
३ दरबन्दी स्वीकृत गरेको गापाले अब १ जना नियुक्ति गर्न बाँकी छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।