१५ असोज २०७७
तेमाल । काभ्रे जिल्लाको तेमाल गाउँपालिका वडा नं. ९, मैनाजाङमा निर्माण भएको सामुदायिक स्वास्थ्य इकाईको भवन उद्घाटन भएको छ । बुधबार गाउँपालिका अध्यक्ष सलामसिं तामाङले एक कार्यक्रमका बीच उक्त भवनको उद्घाटन गरेका हुन् ।

६ कोठा भएको उक्त भवन निर्माणको लागि संघीय सरकारले शसर्त बजेट अन्तर्गत ३३ लाख २० हजार रुपैयाँ बजेट विनियोजन गरेको थियो ।
उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष तामाङले समयमै भवन निर्माण सम्पन्न गरेकोमा खुशी व्यक्त गरे । शसर्त अनुदानको रुपमा आएको बजेट कार्यन्वयनमा आफूले वडा अध्यक्षहरुसँग छलफल गरेर आवश्यकताको आधारमा कार्यन्वयन गरेको बताए ।

अध्यक्ष तामाङले कर्मचारीहरु सधैं बस्ने भएकोले संस्थालाई जनमुखी बनाउन मिहिनेत गर्न कर्मचारीहरुलाई अनुरोध समेत गरे । ‘हामी निश्चित समयको लागि कुर्सीमा बस्छौं । तर सधैंको लागि कर्मचारीहरु रहने गर्दछ ।’ तामाङले भने, ‘जनमुखी काम गर्न म अनुरोध गर्दछु ।’
कार्यक्रममा तेमाल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण कुईंकेलले कार्यालय सञ्चालनको लागि संरचना आवश्यक भएकोले मैनाजाङमा भवन स्थापना भएको बताए । कुईंकलेलले स्वास्थ्य जस्तो संवेदनशील संस्थामा भवन निर्माण हुँदा कर्मचारीहरुको पनि मनोबल उच्च हुने बताए । ‘स्वास्थ्य भवन सबैलाई पायक पर्ने गरी बीचमा पर्ने गरी निर्माण भएको छ ।’ उनले भने ‘यो भवन निर्माण भएपछि कर्मचारीको पनि मनोबल उच्च भएको छ ।’

कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख शिवहरि पाठकले सामुदायिक स्वास्थ्य इकाई होइन, अब स्वास्थ्य चौकीको रुपमा विकास हुने बताए । ‘अहिलेलाई यो सामुदायिक स्वास्थ्य इकाई भएपनि अब यो स्वास्थ्य चौकीको रुपमा विकास हुन्छ ।’ पाठकले भने, ‘वडा नं. ९ मा कुनै स्वास्थ्य संस्था यस अघि नभएकोले अब यसलाई नै स्वास्थ्य चौकीमा विकास गराउनेछौं ।’
त्यसैगरि वडा नं. ९ का वडा अध्यक्ष चन्द्रबहादुर लामाले छोटो समयमा धेरै राम्रो भवन निर्माण भएकोमा उपभोक्ता समितिलाई धन्वयवाद दिए ।

कार्यक्रममा वडा सदस्यहरु टेकबहादुर थोकर, कान्छा लामा, सुन्तली विक, रस्मिता भण्डारी, प्राविधिक रामप्रसाद दाहाल, उपभोक्ता समितिका अध्यक्ष उत्तरसिं लामा र स्थानीयको उपस्थिति रहेका थिए ।

Comments

comments