१५ असोज, २०७७
काभ्रे । काभ्रेको नमोबुद्ध नगरपालिका वडा नम्बर ११ मा जेष्ठ नागरिकहरूलाई सम्मान गर्दै अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवस मनाइएको छ ।
नमोबुद्ध नगरपालिका वडा नं ११ को आयोजनामा सय भन्दा बढी जेष्ठ नागरिकलाई सम्मान गर्दै आज उक्त दिवस मनाइएको हो ।
कार्यक्रमका प्रमुख अतिथि मेयर टिपी शर्मा तिमल्सिनाले कार्यक्रममा वडाका सय भन्दा बढी जेष्ठ नागरिकसँग कुराकानी गरे । साथै छाता, हर्लिक्स, साबुन र सेनिटाइजर पनि वितरण गरेका थिए ।
साठीदेखी सय बर्ष उमेरका जेष्ठ नागरिकसँग मेयरले उहाँहरूको सन्चो बिसन्चो मात्रै सोधेन्न आँखा कमजोर भएकाहरूलाई चाँडै गाउँमै शिविर सञ्चालन गरेर अप्रेसन गर्ने बाचा पनि गरे । जेष्ठ नागरिक भेटघाट तथा कार्यक्रममा नगर प्रमुख तिमल्सिनाले आफू जेष्ठ नागरिकलाई सम्मान मात्र नभई आशिर्वाद लिन आएको बताए । आफुलाई गलत मार्गमा नलाग्न आशीर्वाद दिन उहाँले कार्यक्रममा भेला भएका आमाबुबालाई आग्रह गरे । यहाहरूको आशिर्वादले मलाई अझै राम्रो काम गर्ने प्रेरणा दिनेछु शर्माले भने ।

 

घरमा छोराछोरीले हेरेका छन् कि छैनन् ? खाना रुच्छ कि रुच्दैन? निद्रा पर्छ कि पर्दैन भन्दै नगर प्रमुखले सोध्दा कार्यक्रममा उपस्थित जेष्ठ नागरिक खुशी देखिए ।
नगर प्रमुख तिमल्सिनाले जेष्ठ नागरिकका लागि नगरका सबै वडामा वृद्धवृद्धा भेटघाट चौतारी निर्माणको कार्यक्रम अघि बढाएको जानकारी पनि दिए ।
कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोलाप्रसाद चापागाईंले जेष्ठ नागरिकका ज्ञान र सीपलाई अहिलेको पुस्ताले लिएर अगाडी बढ्नुपर्ने बताए । उहाँले नगरपालिकाले जेष्ठ नागरिकलाई लक्षित गर्दै विभिन्न योजना र कार्यक्रम तर्जुमा गरेको पनि बताए ।

यस्तै वडा अध्यक्ष कृष्णबहादुर तामाङले वडाका जेष्ठ नागरिकलाई भ्रमण गराउने उद्देश्य रहे पनि कोरोना महामारीका कारण अहिले भ्रमण गराउन नसकिएको बताए । उहाँले जेष्ठ नागरिकलाई वडाले समयसमयमा सम्मान गर्दै आएको र आगामी दिनमा पनि सम्मान गर्ने बताए ।
वडा सचिव शंकर भट्टराईका अनुसार वडामा रहेका १ सय ५४ जना जेष्ठ नागरिकमध्ये कार्यक्रममा सय भन्दा बढीलाई सम्मान गरिएको छ भने बाँकीलाई घरमै पुगेर सम्मान गरिनेछ ।

 

Comments

comments