१८ असोज २०७७
नमोबुद्ध । काभ्रे जिल्लको नमोबुद्ध नगरपालिकाले नगर झण्डा सार्वजनिक गरेको छ । नगर कार्यपालिकाको आज आइतबार बसेको बैठकले नगरको पहिचान सहितको नगर झण्डा पारित गरेसँगै सार्वजनिक गरिएको हो ।
नमोबुद्ध नगरपालिका ८ निवासी प्रेम श्रेष्ठले तयार पारेको झण्डालाई नगर कार्यपालिकाको बैठकले सर्वसम्मत पारित गरेको नगरप्रमुख टिपी शर्मा तिमल्सिनाले बताए । झण्डामा रातो र निलो रंगको पृष्ठभूमिमा नगरपालिकाको लोगो राखिएको छ । यसले शान्तिभूमि नमोबुद्धको पहिचानलाई राष्ट्रिय अन्तर्राष्ट्रियस्तरसम्म पुर्‍याउने नगर प्रमुख शर्माले बताए । नगरपालिकाको लोगोसमेत यसअघि श्रेष्ठले नै डिजाइन गरेका थिए ।
नमोबुद्धको नगर कार्यपालिकाको बैठकले झण्डाका डिजाइनर श्रेष्ठलाई धन्यवाद समेत दिएको छ । यसैगरी आजकै कार्यपालिका बैठकले विद्यालय सञ्चालन तथा विद्यार्थी सहजीकरण कार्यविधि पनि पारित गरेको छ । कार्यविधि पारित भएसँगै अब विद्यालय सञ्चालनको प्रक्रिया अगाडि बढेको र असोज चौंथो साताबाट नगरभित्रका विद्यालयहरुमा पठनपाठन सुरु हुने नगरपालिका शिक्षा शाखा प्रमुख जनार्दन रिजालले बताए ।
यसैगरी बैठकले नगरपालिकामा सूचना प्रविधि समिति गठन गरेको छ भने विभिन्न समितिहरुलाई पुर्णता दिने निर्णयसमेत गरेको छ । बैठकले नगर प्रहरी सञ्चालन तथा व्यवस्थापन सम्वन्धी कार्यविधि स्वीकृत गर्नुका साथै नगर युवा परिषद कार्यविधि २०७६ लाई संशोधनसमेत गरेको छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।