२१ असोज २०७७
काभ्रे । काभ्रेको महाभारत गाउँपालिकाको तीनखुट्टे–खोलाघारी–देवीटार सडक खण्डको सिलान्यास भएको छ । मंगलबार बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर फुयाँलले उक्त सडक खण्डको एक कार्यक्रमका बीच शिलान्यास गरेका हुन् ।

काभ्रेको महाभारतस्थित खोलाघारीमा शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री फुयाँलले सडक पहुँचसँगै पर्यटन लगायतका विकासको प्रचुर सम्भवना बोकेको महाभारतमा अब निर्माणको महाभारत हुने बताए ।
‘पिन्थली, देवीटार हुँदै गोकुले सडक अयोजनामा पर्ने दुई खोलाको लागि पक्की पुलको लागि पनि थप वजेटको व्यवस्था गर्नेछु ।’ मन्त्री फुयाँलले भने, ‘४९ करोडमा करिब २६ करोड मात्रै ठेक्का सम्झौता भएकोमा बाँकी रकमको पनि यही क्षेत्रमा नै छिट्टै बोलपत्र आह्वान गर्नेछु ।’
त्यस्तै उनले महाभारत र खानीखोलालाई विशेष लक्षित गरी प्राविधिक शिक्षा र टेलिकमको टावरको लागि पहल गर्ने प्रतिबद्धता समेत व्यक्त गरे । भौतिक पूर्वधार मन्त्रालयले प्रदेशका १३ वटै जिल्लाहरुमा निर्माण गर्न लागिएको प्रादेशिक सडकमध्ये पिन्थली, देवीटार हुँदै गोकुलेसम्मको सडक आयोजना पनि एक रहेको मन्त्री फुयाँलले बताए ।

‘यो सडकको बाँकी रहेको दुई सडक खण्डको अधुरो कामलाई अर्को चरण प्रदेश सरकारले गर्ने योजना समेत रहेको छ’, उनले भने, ‘सिमित स्रोत साधनको प्रयोग गरेर बहुवर्षीय रुपमा प्रादेशिक सडकहरु निर्माण गर्दै जाने योजना रहेको छ ।’
मन्त्रालयसँग रहेको बजेट अनुसार अहिले सडकको काम अगाडी बढाइएको र अधुरो रहने सडकको निर्माण कार्यलाई पुरा गर्न पुनः बजेटको व्यवस्था गरिएको दाबी उनले गरे ।
कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व–ऊर्जा राज्यमन्त्री सूर्यमान दोङ ‘लालध्वज’ले महाभारत गापामा राजनीतिक, आर्थिक विकासका आभारभूत कुरा पुरा भएको बताए । उनले स्थानीय सरकारले अघि बढाएको विकासका अभियानलाई साथ दिन महाभारतबासीलाई अग्रहसमेत गरे ।
कार्यक्रमका सभापति तथा महाभारत गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बाले तीनखुट्टे–खोलाघारी–देवीटार सडक खण्डसँगै तीन सडक खण्डको काम सम्पन्न भएपछि सडक सहज भएसँगै महाभारतको बाटो हुँदै दोलखा, रामेछाप लगायतदेखि प्रदेश राजधानी हेटौँटा जाने आन्तरिक पर्यटक तथा धरान–विराटनगरसम्म निस्कने पर्यटकको लागि पनि सहज हुने बताए ।

महाभारत गाउँपालिकाका अध्यक्ष जिम्बाले विकटतालाई सुगमतामा परिणत गर्न सडक सञ्जालको प्रमुख योजनाका लागि बागमती प्रदेश सरकारसँग पटक पटक अनुरोध गरेका थिए ।
बागमती प्रदेश सरकारले रोशी गाउँपालिकाको पिगंथली रजवास हुँदै महाभारत गाउँपालिकाको बुढाखानी चारकिल्ला तिनखुट्टे देवीटार घर्तिछाप गोकुले सडक निर्माणका लागि बहुबर्षिय योजनामा समावेश गर्ने गरी ५० करोड रकम विनियोजन गरेको थियो ।
‘महाभारतका नागरिकहरुको सडक सञ्जाल जोड्ने र नियमित रुपमा आवतजावत गर्ने सपना पुरा हुने भएको छ’–गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले भन्नुभयो–‘पक्कि सडक निर्माण भए पछि महाभारत क्षेत्रको विकास र समृद्धी हासिलमा थप मद्दत पुग्नेछ ।’
हिउँद र वर्षात १२ महिना नै सडकबाट ओहोरदोहोर गर्न कठिन नहुने बताउँदै महाभारत क्षेत्रमा सडक कालोपत्रे हुने कुराले नागरिकहरुमा आशाको सञ्चार जगाएको जिम्बाले बताए ।
मन्त्री फुँयाललाई गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बाले महाभारत गाउँपालिकाको विकासका लागि ६ वटा मागहरु पेश गरेका थिए ।
महाभारत पुग्ने पिन्थली रजवास तिनखुट्टे देविटार घर्तिछाप गोकुले सडक आयोजनाको बाँकी सडक कालोपत्रे गर्न, सिपाली बुढाखानी बनखु सडकको स्तरोन्नतीका लागि बजेट ब्यवस्था गर्न, ताराखसे रज्जेडँडा गोकुले सडक आयोजना, राङचा वनखु घर्तिछाप गोकुले ताल्ढुंङ्गा मिल्चे सडक स्तरोन्नती गर्न, पार्वतीखोला, खानीखोला र तिनखुट्टै खोला पुल निर्माण गर्न र वनखुखोला पुल, देविटार निर्माणको लागि बजेट ब्यवस्थापन गर्न अध्यक्ष जिम्बाले मन्त्री फुँयाललाई लिखित मागपत्र पेश गरेका छन् ।
महाभारत गाउँपालिकाको तिनखुट्टे देबीटार सडक खण्डको ८.७ किलोमिटर सडक कालोपत्रे हुने भएको छ । २५ करोड ८२ लाख १० हजार ३ सय १६ रुपैया खर्च गर्ने गरी २०७९ असार ३० गते भित्र सम्पन्न गर्ने गरी २०७७ असार ३० गते सम्झौता भएको थियो ।
सडक शिल्यान्यास कार्यक्रममा संघिय सांसद गंगाबहादुर दोङ्ग, संविधान सभा सदस्य रामहरी सुवेदी, जिल्ला समन्वय समिति प्रमुख उद्धव केसी, प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेल, गाउँपालिका उपाध्यक्ष चेतकुमारी माझी, नेकपा बागमती प्रदेश कमिटी सदस्य इन्द्रबहादुर थिङ, नेकपा नेताहरु दैवलाल घिसिङ, सुजन लामा, राजकुमार कुँवर लगायतका सहभागी रहेका थिए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।