२२ असोज २०७७
बेथानचोक । काभ्रेको बेथान्चोक गाउँपालिका स्थित वडा नं ५ कामिडाँडामा नेपाल सरकार, भुकम्प पुनर्निर्माण प्राधिकरणबाट सुकुम्बासी रहेका भुकम्प पीडित लाभग्राहिहरुलाई प्राप्त रकम दुई लाख रुपैयाँमा हुकुम्बासी श्याम लामाको लूट भएको खुल्न आएको छ ।
कामिडांँडाका स्थानीय शिक्षक समेत रहेका लामाले ७० वर्षीय एकल दलित बृद्धा कान्छी विश्वकर्मा र अर्कि अन्दाजी ५५ वर्षीय कालीमाया तामाङको नाममा घडेरी खरिदका निम्ति भनी आएको दुई लाख रुपैयाँ पीडितहरुलाई ललाईफकाई आफ्नो खल्तिमा पारेको कुरा हालसालै खुल्न आएको छ ।

चार।चार आना भिरपाखो जग्गा, जुन ठांँउमा घर बनाई बसोबास गर्न उपयुक्त छैन त्यही जग्गा भुकम्प पिडित लाभग्राहिहरुलाई बेचेको थाहा भएपछि स्थानीय वसिन्दाहरु अचम्ममा परेका छन् ।
केही समय अगाडि शिक्षक लामाले सोही ठाँउ बेथान्चोक–५ निवासी कान्छामान तितुङको ८ रोपनी जग्गा ६० हजारमा खरिद गरि तत्कालै सो जग्गा आफ्नै दिदी कालि तामाङ एवं अर्की ७० वर्षीय एकल दलित बृद्धा कान्छी विश्वकर्मालाई अनेक बहाना बनाई ललाइफकाई चार।चार आना जग्गा दुई।दुई लाखमा बिक्रि गरेको थाहा हुन आएको छ ।
७० वर्षीय कान्छी विश्वकर्मासँग यस बारे बुझ्दा उनले भनिन्, ‘मैले श्याम लामासँग जग्गा लिन चाहेकै थिईन तर उसले मलाई फसाएरै छोड्यो ।’
‘धुलिखेल जाउँ भनेको थियो, मैले बिरामी छु म हिड्न सक्दिन भने पछि उपचार गर्न लैजान्छु भन्दै एम्बुलेन्स बोलाई मलाई धुलिखेल र्पुयाएर कुन्नि कता लग्यो मैले केही पनि थाह पाइन ।’ कुराकानीको क्रममा विक भन्छिन्, ‘उसले को–को संग के–के भन्यो केहि पनि बुझिन । मैले कहिँ कतै सहिछाप गरेको पनि छैन त्यतिकै मलाई फर्काएर घर ल्याई छोडिदियो ।’

अब त्यो जग्गा तिम्रो भयो त्यहाँ भुकम्पको घर बनाएर बस्दा हुन्छ भनेपछि मात्र आफ्नो नाममा आएको दुई लाख लामाको पोल्टोमा परेको कुरा थाहा पाएको उनले बताइन् । ‘जब मैले यो कुरा थाह पाएँ तब छांँगाबाट खसे झैं भएँ ।’ उनले भनिन् ।
जसरी भएपनि उसले देखाएको ठाउंँ स्वीकार गरेर घर बनाउनुको बिकल्प नभए पछि आफ्नै खर्चमा डोजर लगाएर घरेडी बनाएको गुनासो उनको छ ।
यस अघि आएको लामो वर्षाका कारण उक्त घडेरी पहिरोले पुगेपछि उनी निकै दुखीत भएकी छिन् । ‘अलि पहिला सम्म त अर्कै घडेरी दिन्छु भन्थ्यो तर आजकल त बोलचालै बन्द छ । जेसुकै होस् अब म त्यही सार्वजनिक ठाँउमा नै घर बनाउँछु ।’ मलिन अनुहारमा उनी भन्छिन् ।
अर्कि पीडित कालिमाया तामाङसँग सम्पर्क गर्न खोज्दा उनीसँग भने सम्पर्क हुन सकेन ।
घटनाको वास्तविकता बारे शिक्षक लामासँग जिज्ञासा राख्दा आफुले तमाङ र विकलाई फसाएको भन्ने कुरा सत्य नभएको तर बिकको नाममा आएको दुई लाख रुपैयाँ सम्झौता गर्न धुलिखेल जाने क्रममा भने आफुले गाउँपलिकाको एम्बुलेन्स भाडा लिदा ३ हजार रुपैयाँ लिएको बताए ।
पेशाले शिक्षक रहेका लामा कहिले काठ व्यापार त कहिले जग्गा दलाली गर्ने व्यक्तिको रुपमा चिनिन्छन् ।
स्थानियहरुका अनुसार लामा बेला बखत विभिन्न किसिमले चर्चामा आउने गर्छन् ।
कहिले बिद्यालयको रकम हिनामिनाको नाममा त कहिले छात्रबृत्ति रकम हिनामिनाका नाममा भने, कहिले किर्ते माइन्युट तयार गरि प्रधानाध्यापक बन्ने शिक्षकका रुपमा चर्चाम आउने गर्छन् उनी ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















