२६ असोज २०७७
मण्डनदेउपुर । काभ्रे जिल्लामा नेपाली काँग्रेस पार्टी परित्याग गरि सत्तारुढदल नेकपामा प्रवेश गर्ने क्रम जारी रहेको छ । आज पनि मण्डनदेउपुर नगरपालिकामा काँग्रेस कार्यकर्ताहरुलाई नेकपाका केन्द्रिय सदस्य तथा काभ्रे जिल्ला इन्चार्ज गोकुल बाँस्कोटाले प्रवेश गराएका छन् ।
पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला इन्चार्ज बाँस्कोटाले नेकपा समुद्र भएको दावी गर्दै आफ्नो पार्टी थोपा–थोपा थपिएर विशाल समुन्द्र बन्ने अभियानमा जुटेको बताए ।
अर्को प्रसंगमा बाँस्कोटाले नेताहरुले बाटो विराए भने पनि कार्यकर्ताहरु दाँयाबाँया हुनु नहुने बताउँदै नेता र कार्यकर्ता सबै गंगटो जस्तो नभई माछा जस्तै बन्नुपर्नेमा जोड दिए ।
पार्टी एकिकरण भएको लामो समयसम्म जिल्लामा बैठकसम्म बस्न नसकेको प्रति नेता बाँस्कोटाले पार्टी भित्रै निषेधको राजनीति गर्ने जो कोहि भए पनि कार्यकर्ताहरुले बाँकी नराख्ने चेतावनी दिए । ‘भागबण्डा नमिल्दा जिल्लाको एकिकरणको कार्यमा सुस्तता आएको हो । नेतृत्वले गलत कुरा सच्याउन जरुरी छ ।’ –नेता बास्कोटाले भने, ‘पार्टी र संगठनलाई मजबुत नबनाउँदा समेत पार्टी कामले गति लिन सक्दैन । पार्टी पोखरी नभई समु्न्द्र भएकाले पौडन जान्नु पर्छ ।’
जिल्लाका अधिकांश स्थानीय सरकार मार्फत संघ र प्रदेश सरकारको बजेट विनियोजन भई महत्वपूर्ण आयोजना संचालन भइरहेकाले नागरिकहरुको तर्फबाट आयोजनाको अनुगमन, ब्यवस्थापन र समयमै सम्पन्न गर्ने कुरामा खवरदारी गर्न उनले जनतासँग अनुरोध समेत गरे ।
कार्यक्रममा पार्टी प्रवेशमा उत्साह बढेकाले विचारमा रुपान्तरण गरी राष्ट्रिय आत्मसर्मपणबादको पक्षमा लागेको नेपाली काँग्रेसले कायम गर्न नसकेको छिमेकीसँगको सम्वन्ध प्रधानमन्त्री केपी ओलीले कायम गरेको बाँस्कोटाले दावी गरे ।
नेकपा प्रवेश गर्ने नेपाली काँग्रेस मण्डन देउपुर वडा नम्वर ५ का उपसभापति सुर्दशन ढकालले २०४४ साल फागुनमा सदस्यता लिएका थिए । ढकालले विकास र समृद्धीका लागि निरन्तर कृयाशिल पार्टी नेकपा भएकोले प्रवेश गरेको बताए । ‘मलाई पद भन्दा ठुलो देश र देशप्रतिको माया, नागरिकहरु प्रतिको विश्वास, सुखी नेपाली र समृद्ध नेपालको परिकल्पना ठिक लाग्यो र पार्टी परित्याग गरी नेकपामा प्रवेश गर्ने निर्णय गरें ।’ उनले भने ।
कार्यक्रममा शेरबहादुर डोटेल, रिता ढकाल, विदुरप्रसाद सापकोटा कञ्चन अधिकारी, धुर्व काफ्ले, हरि खतिवडा, रुद्रबहादुर तामाङ, पुस्कर ढकाल, कुमार भट्टराई, युवा संघका सह–संयोजक राजकुमार श्रेष्ठ लगायतले नवप्रवेशिहरुलाई बधाई तथा शुभकामना दिएका थिए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।