१ कार्तिक २०७७
तेमाल । काभ्रे जिल्लाको तेमाल गाउँपालिका वडा नं. ८, मेच्छे गाउँमा १०० केभिएको ट्रान्सफर्मर उद्घाटन भएको छ । उद्घाटन आज (शनिबार) एक कार्यक्रमका बीच प्रतिनिधिसभा सदस्य सांसद गंगाबहादुर तामाङ (बमध्वज), पूर्व उर्जा राज्यमन्त्री तथा सभासद सूर्यमान दोङ (लालध्वज) र वागमती प्रदेश सभा सदस्य सांसद रत्न ढकालले संयुक्त रुपमा गरेका हुन् ।
प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको क्रममा मेच्छे गाउँका जनताले सांसदद्वय बमध्वज र ढकाल समक्ष ट्रान्सफर्मरको माग गरेका थिए । साविकको सबै वडामा आवश्यकता अनुसार ट्रान्सफर्मर भएपनि साविकको सो ५ नं. वडामा भने थिएन । सांसदद्वयले निर्वाचनको क्रममा प्रतिबद्धता जाहेर गरेबमोजिम तिमाल सामुदायिक विद्युतिकरण सहकारी संस्था लि. मार्फत सो ट्रान्सफर्मर उपलब्ध गराएका थिए ।
‘तेमालको विकासको लागि हामी प्रतिबद्ध छौं’ –वमध्वज
कार्यक्रमलाई सम्बोधन गर्दै सांसद वमध्वजले आफूहरु तेमालको विकासको लागि प्रतिबद्ध रहेको बताउँदै जनतासँग राखेको प्रतिबद्धता एक–एक गरि पूरा गर्दै आएको बताए । ‘आजभन्दा ३५ महिना अघि तपाईंहरुले हामीसामु राखेको माग पूरा गरेका छौं ।’ उनले भने, ‘ढिलै भएपनि तपाईंहरुको ट्रान्सफर्मरको माग हामीले पूरा गरेका छौं ।’
तेमालमा आफूले ३ वटा काममा विशेष ध्यान दिएको सांसद वमध्वजले बताए । ‘मैले तेमालको लागि मुख्यगरी ३ वटा योजनामा निक्कै जोड दिएको छु ।’ उनले भने, ‘खानेपानी, विजुलीको पोल र भकुण्डे–तेमाल–माम्ती सडक पिच गर्ने कुरालाई पहिलो प्राथमिकतामा राखेका छु ।’
‘मैले सुनकोशीको पानी ल्याउँछु भन्दा मलाई पागल भने’ – पूर्व राज्यमन्त्री लालध्वज
कार्यक्रमका विशेष अतिथि पूर्व उर्जा राज्यमन्त्री तथा नेकपा वागमती प्रदेश कमिटि सचिवालय सदस्य सूर्यमान दोङ (लालध्वज)ले आफूले सुनकोशीबाट खानेपानी ल्याउने योजना बनाउँदै गर्दा सबैले आफूलाई पागल भएको आरोप समेत लगाएको बताए ।
‘मैले सुनकोशीबाट पानी ल्याउने योजना बनाउँदै गर्दा मलाई कैयौंले पागल समेत भने । तर मैले प्रचण्ड प्रधानमन्त्री हुँदा सुख्खा क्षेत्र घोषणा गर्न अनुरोध गरें ।’ लालध्वजले भने, ‘अब तेमालमा सुनकोशीको पानी आउने नै भयो । मलाई पागल भन्नेहरु कहाँ गए खोइ ?’
आफूहरु जनयुद्धमै हुँदा नै तेमालमा सहकारी मार्फत विजुली ल्याउन पहल लिएको उनले बताए । ‘हामीले तेमालमा विजुली बाल्ने योजना जनयुद्ध ताका नै बनाएका थियौं ।’ लालध्वजले भने, ‘आज विजुली त बाल्यौं, तर फलामको पोल र ट्रान्सफर्मरको समेत व्यवस्था हुने नै भयो ।’
‘तेमालमा सबैभन्दा बढी बजेट वडा नं. ८ मा परेको छ’ –सांसद ढकाल
प्रदेश सांसद रत्न ढकालले तेमालमा सबैभन्दा बढी बजेट वडा नं. ८ मा परेको बताउँदै तेमालमा नेपाली काँग्रेसले जितेको भनेर कुनै पनि दृष्टिकोणका हिसाबले कमी नगरेको बताए । ‘विकासको हिसावले, समुदायलाई अघि बढाउने हिसाबले हामीले तेमाल हाम्रै हो भनठानेर केही पनि चिजको कमी गरेका छैनौं ।’ ढकालले भने, ‘तपाईंहरुले केही चिन्त हुनुपर्ने र कही भ्रम हुनुपर्ने केही पनि छैन ।’
आफूले ८ नं. वडामा लिफ्टीङ सिञ्चाई, सडक, कृषि लगायतको क्षेत्रमा करोडौं बजेटको व्यवस्था गरेको बताए ।
त्यसैगरि कार्यक्रममा नेकपाका जिल्ला सदस्य इन्द्र तामाङले आफ्नो पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरुले पार्टीको निर्देशन अनुसार नै बजेटको व्यवस्था गरेको बताए । निर्वाचनमा पार्टीले जनतासमक्ष राखेको प्रतिबद्धता अुनसार नै मेच्छे गाउँमा ट्रान्सफर्मरको व्यवस्था गरेको बताए ।
सो गाउँमा ट्रान्सफर्मर नहुँदा जनताले विभिन्न खालका समस्याहरु व्यहोर्दै आएका थिए । हाल्फ बत्ती बल्ने, कुनै विद्युतिय मेशिन चलाउन नुहने लगायतका समस्यहरु व्यहोरेको स्थानीय पुस्कर रायमाझले बताए ।
तिमाल सामुदायिक विद्युतिकरण सहकारी संस्था लिमिटेडका अध्यक्ष साकीमान तामाङको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा वडा नं. ८ का वडा अध्यक्ष लक्ष्मीबादुर घिसिङ, नेकपाका जिल्ला सदस्यहरु डिएम लामा, घनश्याम लामा, समिर लामा, राष्ट्रिय युव संघ काभ्रेका नेता हजारसिं तामाङ, नेपाली काँग्रेसका ८ नं. वडा सभापति लालबहादुर तामाङ लगायतक स्थानीय जनताको सहभागीता रहेका थिए ।
कार्यक्रमको सञ्चालन सहकारीका सचिव इन्द्रमान तामाङले गरेका थिए ।

Comments

comments