२ कार्तिक २०७७
धुलिखेल । वागमती प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जमकट्टेलले चाडपर्व खर्च नलिने बताएका छन् । मन्त्री जमकट्टेलले हिन्दु धर्मोलम्बीहरुको चाड दशैं र तिहारमा आफूलाई आएको तलब भत्ता नलिने घोषणा गरेका हुन् ।
आफ्नो लागि आएको उक्त तलब सुविधा नलिनुको साथै एक महिनाको तलब समेत वागमती प्रदेश कोरोना भाईरस रोकथाम कोषमा जम्मा गर्ने जमकट्टेलले बताएका छन् । उक्त कुराको घोषणा उनले सामाजिक सञ्जाल फेसबुक मार्फत गरेका हुन् ।
उनले लेखेका छन्, ‘देश कोरोना भाईरसको संक्रमणबाट आक्रन्त भईरहेको बेलामा नेपाली समुदायहरूले मनाउने महान चाडपर्बहरूको शुरूबात भएको छ । यस्तो भयाबह अबस्थामा मनाउने चाडपर्ब खर्चको रूपमा बागमति प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रीको हैसियतले आउने एक महिना बराबरको थप तलब नलिने र बागमति प्रदेश कोरोना भाईरस रोकथाम कोषमा जम्मा गर्ने जानकारी गराउन चाहन्छु ।’
देश संकटमा परिरहेको बेला दशैं भत्ता लिएको भनि सबै जनप्रतिनिधिहरु माथि चौतर्फी आलोचना भइरहेको बेला मन्त्री जमकट्टेलले तलब भत्ता नलिएका हुन् ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।





















