४ कार्तिक २०७७
धुलिखेल । सामुदायिक अस्पतालको रुपमा रहेको धुलिखेल सामुदायिक अस्पतालले कोरोना संक्रमितहरुको उपचारको लागि दैनिक शुल्क निर्धारण गरेको छ । सरकारले वार्षिक करोडौं रुपैयाँ लगानी गर्दै आएको यस अस्पतालमा संक्रमितको दैनिक शुल्क मात्र होइन, धरौटी समेत ५० हजार देखि २ लाखसम्म राख्नुपर्ने भएको छ ।
सोमबार धुलिखेल अस्पताल प्रशासनले एक सूचना जारी गर्दै संक्रमितको उपचारमा लाग्ने शुल्क सार्वजनिक गरेको हो । नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्णयानुसार यसरी शुल्क लिने अस्पताल प्रशासनले जनाएको छ । अस्पतालका अनुसार यो नियम कार्तिक २ गतेदेखि लागु भएको छ ।
भर्ना हुनु अघि नै अस्पतालको नगद शाखामा गएर धरौटी रकम राख्न समेत सूचनमा उल्लेख छ ।
‘नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मिति २०७७ साल कार्तिक २ गतेको निर्णयानुसार यस अस्पतालले कोरोना संक्रमण भई उपचारत विारमीहरुलाई मिति २०७७ साल कार्तिक २ गतेदेखि लागू हुने गरी निम्नानुसारको शुल्क स्वयंम विरामीहरुले बेहोर्नुपर्ने भएकोले जानकारी गराईन्छ । साथै भर्ना हुन अघि अस्पतालको नगद शाखामा धरौटी राख्नुहुन जानकारी गराइन्छ ।’ सूचनामा लेखिएको छ ।
यस्तो छ उपचार बापत लाग्ने शुल्कको विवरण
सामान्य लक्षण भएको विरामीको लागि दैनिक खाना सहित ३५ सय रुपैयाँ शुल्क लाग्ने छ । यस्ता विरामीले धरौटी रकम ५० हजार रुपैयाँ राख्नुपर्ने र औषधि तथा रोग निदानमा प्रयोग हुने जाँचहरु तथा अक्सिजन चलाएमा थप शुल्क लाग्ने छ ।
मध्य जटिल विरामीको लागि खाना सहित दैनिक ७५ सय रुपैयाँ शुल्क लगाएको छ । यस्तो खालको विारमीले १ लाख रुपैयाँ धरौटी राख्नुपर्ने छ र औषधी तथा रोग निदानमा प्रयोग हुने जाँचहरुको थप शुल्क लाग्ने छ ।
जटिल विरामी (जो आइसियूमा राख्नुपर्ने हुन्छ)को लागि खाना सहित दैनिक १५ हजार रुपैयाँ शुल्क लाग्ने छ । यो खालको विरामीले धरौटी रकम २ लाख रुपैयाँ राख्नुपर्ने छ र औषधी तथा रोग निदानमा प्रयोग हुने जाँचहरु तथा भेन्टिलेटरको थप शुल्क लाग्नेछ ।
अस्पतालको यो खालको शुल्कले सर्वसाधारणको उपचारमा ठूलो समस्या आउने छ । कोरोना भाइरस महामारीले रोजगार गुमाउन पुगेका र दैनिक जीवन गुजारा समेत चलाउन नसक्ने जनताले उपचार पाउन अब मुस्किल भएको छ । यस प्रति नेपाल सरकार सचेत हुने हो कि ?

Comments

comments