२६ कार्तिक २०७७
धुलिखेल । सरकारद्वारा प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी (विप्लब समूह)का काभ्रे जिल्ला सदस्य पक्राउ परेको छ । पक्राउ पर्नेमा धुलिखेल नगरपालिका वडा नम्बर १२ शंखुपाटीचौर एक्लेखेत घर भएका ५४ बर्षीय मधुसुधन बजगाईं रहेका छन् ।
बजगाईलाई आज बिहान उनकै घरबाट पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ । बजगाईले काभ्रे जिल्लाका प्रतिष्ठित व्यक्ति, उद्योगी, व्यापारीहरु समेतलाई फोनबाट धाकधम्की दिई चन्दा माग गर्ने गरेको भन्ने सूचनाको आधारमा पक्राउ गरेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय, काभ्रेबाट खटिएको प्रहरी टोलीले खोजतलासको क्रममा उनलाई फेला गरेको हो । खोजी गर्दै जाँदा फेला परेको बजगाईले प्रहरी टोलीले सोधेका कुराको जवाफ नदिई उल्टै प्रहरी टोली माथि अपशव्द प्रयोग गरेको प्रहरीको भनाई छ ।
बजगाईले प्रहरीको काम कर्तब्यमा बाधा अवरोध सृजना गरि अभद्र व्यवहार गरेका तत्काल कानुन बमोजिम पक्राउ गरी मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद–५ को सार्बजनिक हित स्वास्थ्य सुरक्षा सुबिधा र नैतिकता बिरुद्ध कसूर अन्तर्गत मुद्दा दर्ता गरी आजै जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकबाट म्याद थप अनुमती लिइ प्रहरीले अनुसन्धान अघि बढाएको छ ।
प्रहरीसँगको प्रारम्भिक बयानमा बजगाईले आफु नेपाल कम्युनिष्ट पार्टी विप्लब समूहको जिल्ला कमिटी सदस्य रहेको र पार्टीको नीति अनुसार काम बारबाही गर्दै आएको बयान दिएका छन् ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।