२७ कार्तिक २०७७
धुलिखेल । जिल्ला प्रशासन कार्यालय, काभ्रेले आउँदै गरेको हिन्दुहरुको महान पर्व तिहारमा देउसी भैलो जस्ता कार्यक्रममा रोक लगाएको छ । कोभिड–१९ को महामारीलाई मध्य नजर गर्दै कार्यालयले देउसी भैलो जस्ता कार्यक्रम नगर्न अनुरोध गरेको हो ।
प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले आज एक सूचना जारी गर्दै कोभिड–१९ संक्रमण दर अत्याधिक बढिरहेकोले देउसीभैलो कार्यक्रम नगर्न अनुरोध गरेको छ । ‘कोभिड–१९ संक्रमणको दर अत्याधिक बढिरहेको वर्तमना अवस्थाकै बीच नेपालीहरुको चाड शुभदीपावली तथा छठ पर्व नजिकिदै आएको हुँदा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट स्वीकृत स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्न, भौतिक दूरी कायम गर्न, अनावश्यक आवतजावत नगर्न, देउसीभैलो जस्ता कार्यक्रमहरु नगर्न समस्त जिल्लावासीहरु समक्ष जिल्ला प्रशासन कार्यालय, काभ्रेपलाञ्चोक हार्दिक अनुरोध गर्दछ ।’ सूचनामा उल्लेख छ ।
प्रशासनले दीपावली तथा छठ पर्व मनाउने क्रममा भुईंचम्पा, पटाका पड्काउने र आशवाजी गर्ने जस्ता विष्फोटक तथा प्रज्वलनशिल पदार्थ प्रयोग नगर्न साथै खरिद विक्रि तथा ओसारपसार समेत नगर्न नगराउन अनुरोध गरेको छ ।
सूचनाको वर्खिलाप हुनेगरी कुनै गतिविधि भएको पाइएमा कानूनबमोजिम कार्वाही हुने सूचनामा उल्लेख छ ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।





















