३० कार्तिक २०७७
महाभारत । प्रतिनिधि सभा सदस्य सांसद गंगाबहादुर तामाङ (बमध्वज)ले आफूलाई महाभारत गाउँपालिकामा आफ्नै पार्टीका केही व्यक्तिहरुले निषेध गर्न खोजिएकोमा आक्रोश व्यक्त गरेका छन् । आइतबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) महाभातर गाउँपालिका वडा नं. १ वडा कमिटिले आयोजना गरेको चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रममा सांसद बमध्वजले यसरी आक्रोश व्यक्त गरेका हुन् ।
आफ्नै पार्टीका केही नेताहरुले संघीय सांसदले केही गरेन भनेर जनता र कार्यकर्तामा भ्रम फैलाएको भन्दै सांसद बमध्वजले आफू यहाँसम्म त्याग र संघर्षको भट्टीबाट आएको दावी गरे ।
‘म प्रति जे हर्कत गरेको छ मैले चाहेको यहीं थियो । मैले जे चाहेको थिएँ त्यो प्राप्त भयो । तर कसैकसैको लागि अब महंगो पर्ने छ ।’ उनले भने, ‘बमध्वज भन्ने मान्छे त्यतिकै टुसाएर आएको होइन । भिक्षा प्राप्त गरेर आएको होइन, संघर्षको भट्टीबाट खारेर आएको छु । जसलाई जुन ढंगले व्यबहार गरेकोछ कुनै कुनै बेला यो महंगो पर्ने छ । यो हेक्का राखोस ।’
विकास निर्माणका हिसाबले खानीखोला गाउँपालिका र महाभारत गाउँपालिकालाई पहिलो प्रथमिकतामा राखेको सांसद बमध्वजले बताए । ‘संघीय सांसदले केही पनि गरेको छैन भनेर प्रचार गरेको पाईयो । कान खोलेर सुन्नुहोला जस्ले यो आरोप लगाएको छ । संघीय सांसदले बजेट पारित गर्ने हो । त्यो बजेट प्रदेश र गाउँपालिकामा विनियोजन गरेको हुन्छ ।’ उनले भने, ‘कोही कोही अध्यक्षको घरबार बेचेर विकास हुन्छ ? कोही कोही अध्यक्षको खल्तीबाट बजेट निकाल्ने हो ?’
महाभारतको सबै गाउँ र बस्ती सबै आफूलाई थाहा भएको र यहाँको सबै समस्यासँग म परिचित रहेको बताउँदै विकासको लागि आफूले गर्नुपर्ने सबै पहलहरु गर्ने प्रतिबद्धता जाहेर गरे ।
कार्यक्रममा वागमती प्रदेश कमिटी सदस्य रामहरि सुवेदीले पार्टी अन्तरविरोधलाई निषेध तिर नधेकेल्न अनुरोध गरे ।
त्यसैगरि पार्टी जिल्ला सदस्य इन्द्र तामाङले कार्यक्रमलाई हुन नदिन आफ्नै साथीहरुले लागेको थाहा पाउँदा आफूलाई दुःख लागेको बताउँदै कार्यक्रममा आउन रोक्नेहरुलाई बाघको छाला ओड्ने स्यालको संज्ञा दिए ।
कार्यक्रममा जिल्ला सदस्यहरु दैवलाल घिसिङ, पूर्णसिं वाइबा, रुपबहादुर योञ्जन, कुलदेव अस्तानी, महाभारत पार्टीका नेता असली तामाङ लगायतका सहभागीता रहेका थिए ।
भिडियो हेर्नुहोस्ः
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।





















