५ मंसिर २०७७
काठमाडौँ । सरकारद्वारा प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी विप्लब समूहलेले पार्टी पुनर्गठन दिवसलाई भव्य रुपमा मनाउन प्रचार प्रसारलाई तिब्र पारेको छ । मंसिर ८ गते आफ्नो पार्टी पुनर्गठन भएकोले सो दिनलाई उत्सवको रुपमा मनाउन लागेको छ ।
यस अघि सो पार्टीले मङ्सिर ६, ७ र ८ गते सातौँ पार्टी पुनर्गठन दिवस भव्य रूपमा मनाउने घोषणा गरेको थियो । मंसिर ६ देखि ८ गतेसम्म देशव्यापी प्रचारप्रसार, प्रदर्शन, सभाहरू र उत्सव आयोजना गरी पार्टी पुनर्गठन दिवस मनाउन लागिएकोले आजदेखि नै प्रचारप्रसारमा लागेको काठमाडौं गणतान्त्रिक सम्पर्क मञ्चका केन्द्रिय सदस्य मुक्तक लामाले जानकारी दिए ।
उनका अनुसार आज काठमाडौंको विभिन्न क्षेत्रमा पर्चा पम्प्लेटीङ गरेको छ । काठमाडौंको कोटेश्वर, जडिबुटी, नयाँ बसपर्का, सातदोबाटो, कलंकी, भोटाहिटी, बागबजार, भक्तपुर, ललितपुरमा प्रचार प्रसार पनि गरेको छ ।
विप्लवको नेतृत्वमा २०७१ साल मङ्सिर ८ गते ‘क्रान्तिविरोधी प्रवृत्ति’सँग सम्बन्धविच्छेद गर्दै फेरि नयाँ पार्टी नेकपा माओवादी गठन गरेको थियो ।
त्यसको एक वर्षपछि २०७३ साल भदौ ७ गते कम्युनिस्ट न्युक्लियससँग भएको क्रान्तिकारी ध्रुवीकरणपछि नेकपा (माओवादी) बनेको थियो । थबाङमा सम्पन्न भएको ऐतिहासिक आठौँ महाधिवेशनपछि यो पार्टी नेपाल कम्युनिस्ट पार्टीका रूपमा अघि बढिरहेको छ ।
विप्लवको नेतृत्वमा क्रान्तिकारी आन्दोलनको नयाँ पहल गरिएको दिन मङ्सिर ८ गते ७ वर्ष हुँदैछ ।
नेकपा स्रोतका अनुसार भोलि ६ गते देशभर पार्टी पुनर्गठन दिवसको प्रचारप्रसार तथा अतिरिक्त क्रियाकलाप गरिनेछ भने ७ गते देशव्यापी प्रदर्शन र जनसभाहरू गरिनेछन् । ८ गते पार्टी पुनर्गठनको दिन पारेर देशभर उत्सव मनाइनेछ ।

Comments

comments