८ मंसिर २०७७
खानीखोला । काभ्रे जिल्लाको खानीखोला गाउँपालिका वडा नं. ६, देउरालीमा सार्वजनिक सुनुवाइ, समिक्षा तथा बिकास निर्माणमा आगामी योजना सम्बन्धि अन्तरक्रिया कार्यक्रम कार्यक्रम सम्पन्न भएको छ । आइतबार स्थानीय जनता र जनप्रतिनिधिबीच वडा नं. ६ को आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
वडा नं. ६ का साविक सबै वडाका जनताको सहभागीता रहेको उक्त कार्यक्रमलाई सम्बोधन गर्दै प्रतिनिधिसभा सदस्य सांसद गंगाबहादुर तामाङ (बमध्वज)ले निर्वाचनको क्रममा आफू र आफ्नो पार्टीले जनतासमक्ष गरेको प्रतिबद्धता विस्तारै पूरा हुँदै गएको बताए ।

‘हामीले मुख्यतः यहाँको पहिलो आबश्यकता र समस्यालाई सम्बोधन गर्ने भनेका थियौं । सोही अनुसार काम अगाडि बढीरहेको छ ।’ सांसद बमध्वजले भने, ‘हामीले खोपासी तालढुंगा सडक निर्माण सम्पन्न गर्ने भनेका थियौं, आज तालढुंगामा गाडी पुग्छ । विद्युतको राष्ट्रिय लाइन विस्तार गरेर विद्युतिकरणको कामलाई अगाडि बढाउँछौं भनेका थियौं, काम धमाधम भइरहेको छ । च्याल्टी, दयागाउँ, तालढुंगा सडक निर्माण गर्ने भनेका थियौं, यो पनि सम्पन्न भएको छ ।’
बमध्वजले खोपासी तालढुंगा सडक अब स्तरोन्नति हारहालतमा हुने बताए । ‘यो सडक रणनीतिक सडक हो, अब हारहालतमा स्तोन्नति, ग्राबेल र पिच हुनेछ ।’ उनले भने, ‘अब ढुक्का हुनुहोस्, बाह्रै महिना चल्ने सडक सञ्जाल अब खानीखोलामा हुनेछ ।’

केही विरोधीहरुले कम्युनिष्ट सरकार र सांसदले केही पनि गरेन भन्ने भ्रम फैलाईरहेकोले यस्तो भ्रमको पछि नलाग्न जनतालाई अनुरोध गरे । ‘केही मान्छेहरु भ्रमको खेती गर्न तल्लिन देखिन्छ, वर्तमान सरकार र सांसदले केही पनि गरेन भनेर भ्रम फैलाएको पाइएको छ । तपाईंहरु भ्रममा नपर्नुहोला ।’ बमध्वजले भने, ‘केही पनि नभएको भए खोपासी तालढुंगमा गाडी कसरी पुग्यो, विद्युतिकरणको काम तिब्र गतिमा कसरी भइरहेको छ ? हरेक बस्तीमा सडक सञ्जाल कसरी पुग्यो ? खानेपानीको ठूलो–ठूला योजना कसरी कार्यन्वयन हुँदै छ ? बुझ्न जरुरी छ ।’
हिजो एउटा गाविस जुन आज वडामा परिणत भएको छ मुस्किलले २० लाख बजेट हुनेगरेको बताउँदै उनले आज ३ करोड भन्दा बढी बजेट आएको बताए । ‘हिजो मुस्किलले साल्धारा गाबिसमा जो आज ६ नं. वडा छ २० लाख बजेट आउँथ्यो ।’ उनले भने, ‘आज यो वडालाई ३ करोड बजेट आएको छ । संघियताले हाम्रो करेसामा बिकास ल्याएको छ । भनेपछि आज हामी कुन ठाउमा रहेछौ ?’

उनले आगामी दिनहरुमा जनताको माग र आवश्यकता बमोजिम आफू सधैं लागिपर्ने प्रतिबद्धता जाहेर गरे ।
कार्यक्रममा संविधान सभा सदस्य तथा नेकपा वागमती प्रदेश कमिटि सदस्य रामहरि सुवेदीले विभिन्न समस्या आएपनि विकास निर्माण सन्तोषजनक रहेको बताए । ‘समस्याहरु धेरै आउँछ, आएको पनि छ, तर विकास निर्माण सन्तोषजनक रहेको छ ।’ सभासद सुवेदीले भने, ‘यहाँको जनप्रतिनिधले गर्व गर्न लायकको काम गरेको छ, हामी हल गोरु हौं, जोतिन्छौं, तपाईंको साथ र सहयोग चाहिन्छ ।’
कार्यक्रममा सुवेदीले जजप्रतिनिधि विकासको इन्जीन भएको बताउँदै व्यवसायीक शिक्षामा जोड दिए । ‘विकासको इन्जीन भनेको जनप्रतिनिधि हो । कर्मचारी हो, प्राविधकहरु हो । जनताको कुराहरु हो ।’ उनले भने, ‘अब व्यवसायीक शिक्षाको आवश्यकता छ । अब विकास तपाईंहरुको हातमा छ ।’

कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष कृष्णबहादुर खुलालले खुट्टा तान्नेहरु धेरै भएपनि आफूहरु सफल हुँदै गएको बताए । ‘खुट्टा तान्नेहरु धेरै छन्, तैपनि हामी सफल भएका छौं । बिकास निर्माणका बिषयमा हामीलाई सल्लाह सुझाव दिनु होला ।’ उनले भने, ‘अब यो वर्ष योजना कार्यन्वयनमा ढिलाई भएको छ, उपभोक्ता समिति चाँडै गठन गरेर अगाडि बढ्नु होला ।’
उनले दुरसञ्चारलाई जनताको पहुँचमा पु¥याउन फोर्जी ल्याउन लागेको बताउँदै त्यसको लागि डाँडागाउँ र असनचुलिमा टावर निर्माण गर्न लागेको बताए ।
कार्यक्रममा वडा अध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता मानबहादुर गोलेले वडा भित्र सम्पन्न भएको र चालु योजनाहरुकोबारेमा चर्चा गरेका थिए ।

वडामा व्यवसायीक कफि खेतीलाई प्रबद्र्धन गर्न लागेको बताए । यो वर्ष मात्रै वडाका किसानहरुले ३ करोड रुपैयाँ बराबरको कफि उत्पादन गरेकोले अब यसको प्रवद्र्धनको लागि १ लाख विरुवा उत्पादन गरेर किसानहरुलाई वितरण गर्न लागेको बताए ।
वडामा बृहत खानेपानी योजना पनि कार्यन्वयन हुन लागेको जानकारी दिए । ‘४ सय ५० घरधुरीको लागि खानेपानीको व्यवस्था गर्दै छौं । करिब ९ करोड रुपैयाँको यो योजना शुरु भइसकेको छ ।’ वडा अध्यक्ष गोलेले भने, ‘यो वर्ष ६ करोड रुपैयाँको काम हुँदै छ ।’

उनले एकीकृत छ्याङछ्याङ खोला खानेपानी योजनालाई सम्पन्न बनाउन सबैमा आग्रह समेत गरे ।  यातायातमा सारै कठीन भएको बताउँदै बजेटको व्यवस्था गर्न सांसद बमध्वजलाई अनुरोध समेत गरे ।
कार्यक्रममा नेकपा जिल्ला कमिटि सदस्य दैवलाल घिसिङ, गाउँपालिका उपाध्यक्ष रुकमिनी गुरुङले पनि मन्तव्य राखेका थिए ।
वडा अध्यक्ष गोलेको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत मोहनलाल श्रेष्ठ, राष्ट्रिय युवा संघ, नेपालका जिल्ला सदस्य बिरेन ब्लोन, कार्यपालिका सदस्य निलबहदुर पहरी लगायतका सहभागीत रहेका थिए । वडा सदस्य राधिका बिकले स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन वडा सचिव रेशम थापाले गरेका थिए । कार्यक्रममा स्थानीय जनताले जनप्रतिनिधिहरुसँग विभिन्न जिज्ञासा राखेका थिए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।