८ मंसिर २०७७
रोशी । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) काभ्रे जिल्ला सदस्य उज्ज्ल लामाको निधन भएको १३ औं दिनमा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ । आज आइतबार दिवंगत लामाको घरमै नेकपा, रोशी गाउँ पार्टी कमिटिले श्रद्धाञ्जली सभाको आयोजना गरिएको हो ।
श्रद्धाञ्जली कार्यक्रम नेकपाका स्थायी कमिटि सदस्य तथा वागमती प्रदेश इन्चार्ज अष्टलक्ष्मी शाक्यको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै इन्चार्ज शाक्यले लामाको निधनले सिंगो पार्टीलाई ठूलो क्षतिभएको बताए । ‘हाम्रो पार्टीलाई क. उज्ज्वलको निधनले निक्कै ठूलो क्षति भएको छ ।’ शाक्यले भने, ‘उहाँको मृत्यु भएपनि उहाँले गर्नुभएको असल कामहरु हाम्रो मनभित्र छ । सिंगो पार्टीको ढुकढुकीमा बाँचीरहनेछ ।’
अर्को प्रसंगमा पार्टी आप्ठ्यारोमा परेको बताउँदै पार्टीलाई बलियो बनाउन पार्टी भित्र बहस भएको बताए । ‘यतिखेर पार्टी आप्ठ्यारोमा छ । पार्टीलाई बलियो बनाउन बहस चलिरहेको छ ।’ पार्टी इन्चार्ज शाक्यले भने, ‘नेकपा कुनैपनि हालतमा फुट्दैन, निक्कै कठीनहरु झेलेर बनेको पार्टी हो । बलिदान, जेलनेल खाएर पार्टी निर्माण भएको हो ।’

कार्यक्रममा नेकपा वागमती प्रदेशका सचिवालय सदस्य एवं पूर्व उर्जाराज्यमन्त्री सूर्यमान दोङ (लालध्वज)ले पार्टीको मूल मर्ममा उज्ज्वल कामरेडको निधनले ठूलो धक्का पुगेको बताए । जिबित हुनेहरुले असल अर्थमा श्रद्धाञ्जली अर्पण गर्ने हो भने दिवंगत उज्ज्वलले छोडेर गएको बाँकी काम पूरा गर्नुपर्नेमा जोड दिए ।

त्यसैगरि कार्यक्रममा नेकपा बागमती प्रदेश कमिटि सचिवालय सदस्य तथा संघीय सांसद गंगाबहादुर तामाङ, (बमध्वज), नेकपा वागमती कमिटि सचिवालय सदस्य तथा चौंरीदेउराली गाउँपालिकाका अध्यक्ष दिननाथा गौतम (प्रयास), पार्टी जिल्ला अध्यक्ष रुकु चौंलागाईं, सचिव टोकबादुर वाईबा, संविधान सभा सदस्य तथा वागमती प्रदेश कमिटि सदस्य रामहरि सुवेदी, वागमती प्रदेश कमिटि सदस्यहरु तेजबहादुर मिजार, इन्द्रबहादुर थिङ, मिमबहादुर तामाङ, प्रदेश कमिटि सदस्य तथा प्रदेश सांसद लक्ष्मण लम्साल, प्रदेश सांसदद्वय रत्न ढकाल, चन्द्र लामा, जिल्ला कमिटि सदस्यहरु, रोशी गाउँपालिकाका नेता तथा कार्यकर्ताहरुको सहभागीता रहेका थिए ।

काभ्रेली कम्युनिष्ट आन्दोलनमा निक्कै ठूलो योगदान रहेको युवा नेता उज्ज्वल लामा काभ्रे जिल्ला रोशी गाउँपालिका वडा नं. ६, साविक सिपाली चिलाउने गाविस वडा नंं २ मा बुबा गुञ्जमान लामा र आमा म्हेन्दोमाया लामाको कोखबाट २०३४ साल कार्तिक १५ गते जन्मिएका थिए । लामा २०४७ सालमा तत्कालीन अनेरास्ववियूमा आबद्ध भई तत्कालीन नेकपा (चौ.मा)बाट राजनीतिक जीवन शुरु गरेका थिए । २०५४ सालमा नेकपा (एकता–केन्द्र–मशाल)को सदस्यता प्राप्त गरी २०६५ सालमा एकीकृत नेकपा (माओवादी)को जिल्ला सदस्य हुँदै नेकपा माओवादी केन्द्रको केन्द्रिय महाधिवेशन आयोजक कमिटिको सदस्य समेत भएका थिए । हाल उनी नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का जिल्ला सदस्य थिए ।
उनको परिवारमा श्रीमती शान्ति लामा, २ छोरा उशान र प्रशान, आमा र बुबा रहेका छन् । उनको निधन गत कार्तिक २५ गतेका दिन राती ९ः३० बजे भएको थियो ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।





















