८ मंसिर २०७७
काभ्रे । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य एवं वागमती प्रदेश इञ्चार्ज अष्टलक्ष्मी शाक्यले नेकपा फुट्दै नफुट्ने दावी गरेका छन् । नेकपा, काभ्रेका जिल्ला सदस्य उज्ज्वल लामाको १३ औं पुण्यतिथिको अवसरमा आयोजित श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै इञ्चार्ज शाक्यले उक्त कुराको दावी गरेकी हुन् ।
‘ढुक्क हुनका लागि अनुरोध गर्न चाहन्छु, नेपाल कम्युनिष्ट पार्टी फुट्दैन । किनभने धेरै आरोह, अबरोहबाट यहाँ आइपुगेको हो । लामो समयको हन्डर, ठक्कर खाएर, धेरै बलिदान गर्दै, दुःख कष्ट गर्दै, जेलनेल खप्दै यहाँसम्म आइपुगेको यो पार्टी हो ।’ शाक्यले भनिन्, ‘कसैले चाहेर सजिलैसित यो पार्टी फुट्दैन । यो विचारबाट योग्य छ, सिद्धान्तबाट योग्य छ । यो विधिबाट योग्य छ ।’
स्वार्थहरु राखेर, लेनदेनको आधारमा, संकीर्ण भएर कोही पनि नेता चाल्नुहुन्न भन्ने आफ्नो प्रष्ट धाराणा रहेको बताउँदै समाजवादको लक्ष्य लिन, जनतालाई खुशी र सुखी बनाउन पार्टी एकता भएको चर्चा चरिन् । ‘दुइपार्टी एकता हुँदा हामीले के सोचेका थियौ भने, नेकपा बलियो हुनुपर्छ, कम्युनिष्ट पार्टीहरु अलग अलग बसेर देश बन्दैन । समृद्धि आउँदैन । अहिले हामी संघीय लोकतान्त्रिक गणतन्त्रमा छौं । ठूलै बलिदान गरेर ल्याएको । यसलाई जोगाउनुपर्छ ।’ उनले थपिन, ‘अब हामीले समाजवादको लक्ष्य लिनुपर्छ, जनतालाई खुशी र सुखी बनाउनुपर्छ भनेर लागिरहेको अवस्थामा यो विशाल पार्टी बन्यो । हामीले सोचेका पनि थिएनौं । तर जनताको विश्वासले बन्यो, जनताको मायाले बन्यो । जनताको मतले बन्यो । आज हामी सबै ठाउँमा हामी सरकारमा छौं । त्यसैले यो अवसर हामीले गुमाउनुहुँदैन । सजिलै आफ्नो स्वार्थहरु राखेर, लेनदेनको आधारमा, संकीर्ण राखेर कोही पनि नेता चाल्नुहुन्न भन्ने प्रष्ट धाराणा हो ।’

Comments

comments