१३ मंसिर २०७७
काभ्रे । सरकारबाट प्रतिबन्धित पार्टी नेपाल कम्युनिष्ट पार्टी (विप्लब समूह)का कार्यकर्ताहरु पार्टी परित्याग गरि सत्तारुढ दल नेकपामा प्रवेश गरेका छन् । सो समूहका भातृसंगठन तामाङ राष्ट्रिय मुक्ति मोर्चा, नेपालका केन्द्रिय अध्यक्ष कान्छा लामाको नेतृत्वमा ७४ जनाले आज विप्लब समूह परित्याग गरि नेकपामा प्रवेश गरेका हुन् ।
नेकपामा प्रवेश भएका उनीहरुलाई पूर्वमन्त्री तथा नेकपा जिल्ला इन्चार्ज गोकुलप्रसाद बाँस्कोटाले स्वागत गरेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला इन्चार्ज बाँस्कोटाले कार्यक्रमलाई सम्बोधन गर्दै विप्लबको क्रान्ति आजको आवश्यकता नभएकाले विप्लबलाई समेत नेकपामा प्रवेश गर्न अनुरोध गरे ।

‘ध्वङ्सात्मक क्रान्ति आजको आवश्यकता हैन, तपाईको क्रान्तिमा भ्वाङ परिसक्यो, अब तपाई पनि नेकपामा प्रवेश गर्नुप¥यो’ बाँस्कोटाले भने, ‘विकास–क्रान्तिको निरन्तरता आजको आवश्यकता हो, चन्द कमरेड तपाईका नेताकार्यकर्तालाई तपाईको क्रान्ति बेअर्थ लागेर सबै जिल्लाबाट नेकपामा प्रवेश गरिरहेका छन्, तपाई पनि नेकपामा समाहीत भए राम्रो ।’
बाँस्कोटाले गतिशील र सुढृढ नेपाल निर्माणमा रहेको बताउँदै नेकपा कुनैपनि हालतमा नफुट्ने दावी गर्दै ठूलो पार्टीमा होहल्ला मात्रै भएको बताए । ‘नेकपा फुट्दैन, अब पार्टभित्र फुटको राजनीति हैन, विचार, कार्यक्रम, सिद्धान्त र योजनाको प्रतिस्पर्धा हुन्छ ।’ उनले भने, ‘नेकपालाई ठूलो घर हो, बेलाबेलामा होहल्ला हुनु स्वाभाविक हो ।’
विप्लब समूह परित्या गरि नेकपामा प्रवेश हुनेहरुमा ताम्सालिङ विशेष ब्युरो सदस्य तथा तामाङ राष्ट्रिय मुक्ति मोर्चा केन्द्रिय अध्यक्ष कान्छा तामाङ, पार्टी सचिबालय सदस्य एवं दलित मुक्ति मोर्चा केन्द्रिय सदस्य तथा काभ्रे अध्यक्ष रमेश नेपाली, पार्टी जिल्ला कमिटी सदस्य एवं अखिल नेपाल महिला क्रान्तिकारी संघका जिल्ला अध्यक्ष सम्झना परियार लगायत ७४ जना रहेका छन् ।
कार्यक्रममा नेकपा वाग्मती प्रदेश सदस्य रामहरी सुबेदी, वागमती प्रदेश सांसद चन्द्र लामा, जिल्ला कमिटी सदस्य अशोक ब्यान्जु, रामकृष्ण हुमागाई, कुमार थापा, राजन भुर्तेल, रिता ढकाल लगाएत सहभागि रहेका थिए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।





















