कलंकीदेखि चाबहिल सम्मको सडक बिस्तारको क्रममा विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भूका हजार बुद्धको मूर्तिहरू सहितको बोधिचैत्य भत्काउने सरकारी निर्णयको विरोधमा स्वयम्भु विश्वसम्पदा क्षेत्र बचाऔं अभियानले दुई हप्ते विरोध कार्यक्रम घोषणा गरेको छ ।

नेपाल सरकार, भौतिक पुर्वाधार तथा यातायात मन्त्रालय मातहतको सडक विभागले चक्रपथ बिस्तारको दोश्रो चरणमा कलंकी–चाबहिल सडक विस्तारको क्रममा स्ययम्भु क्षेत्रको सम्पदाका संरचना भत्काउन लागेको भन्दै अभियानले विरोधस्वरुप स्वयम्भु, बौद्ध र लुम्बिनीमा शनिबार साँझ पाँच बजे एक साथ दीप प्रज्वलन गरी शान्तिपूर्ण प्रदर्शन गरेको थियो ।

स्ययम्भु क्षेत्रको ऐतिहासिक, धार्मिक, सांस्कृतिक सीमा स्तम्भ, त्यसभित्र रहेको हातले घुमाउने माने र हजार मुर्ति सहितको स्तुपा साङ्गे तोङ्कु समेत भत्काउन लागेकाले आफूहरूले विरोध गरेको सम्पदा बचाउ अभियान्ताहरुले बताएका छन् । यसैगरी, अभियानले २७ मंसिरमा स्वयम्भु परिसरमा शान्पिूर्ण मौन र्याली गर्ने भएको छ । प्रधानमन्त्री,संस्कृत तथा पर्यटन मन्त्री, भौतिक पुर्वाधार मन्त्री,सडक विभाग, काठमाडौं महानगरपालिका,पूरातत्व विभाग युनेस्को लगायत विभिन्न निकायलाई ज्ञापनपत्र बुझाउने र मंसिर महिनाभरी हस्ताक्षर अभियान सञ्चालन गरिने अभियानले जनाएको छ ।

त्यस क्षेत्रको हातेमणि र हजार बुद्ध सहितको ७५ फिटको अग्लो विशाल नमुना बौधिचैत्य सहितको पर्खाल भत्काउने धार्मिक–सांस्कृतिक सम्पदा संरक्षण विरोधी कदम तत्काल रोक्नसरकार र सम्बन्धित निकायलाई अभियानले आग्रह गरेको छ । स्वयम्भू क्षेत्र काठमाडौं महानगरपालिका–१५ मा पर्दछ ।

बुद्ध जन्मेको देशमा सरकार र सम्बन्धित निकायले गरेको कार्यले बौद्धमार्गीहरू तथा ऐतिहासिक–धार्मिक–सांस्कृतिक सम्पदाप्रेमीहरूको भावनामा गम्भीर चोट पुर्याएको छ । साथै विश्व जगतमा समेत धुलो उडाउँदै बुद्धको मूर्तिको संरचना भत्काउनेजस्तो कार्यले नकारात्मक सन्देश जाने बताएको छ ।

विकासको गति अबरुद्ध हुन नदिने र बौद्धमार्गीहरूको धार्मिक सम्पदाको पनि संरक्षण हुने गरी सो ऐतिहासिक–सांस्कृतिक–धार्मिक संरचना नभत्काइकन पनि सडक बिस्तार गर्न सकिने विकल्प हुँदाहुँदै सरकार र सडक बिस्तार गर्ने सम्बन्धित निकाय जबर्जस्त रुपमा अगाडि बढिरहेकोप्रति अचियाले असहमति जनाएको छ ।

पक्कै पनि बुद्ध जन्मेको देशका समस्त बौद्धमार्गीहरू र धार्मिक शान्ति तथा सद्भाव पक्षधरहरू एकजुट भई भगवान बुद्धका हजार मूर्तिहरू सहितको स्तुपा, सीमा स्तम्भ र हाम्रो दैनिक नित्यकर्म गर्ने मानेहरू बचाउन तथा नेपालकै गौरवको रुपमा चिरपरिचित रहेको स्वयम्भू विश्वसम्पदाको भूक्षेत्रलाई समेत जोगाउने ध्येय सबैले राख्नु पर्दछ ।

शाक्यमुनि बुद्धको जन्मभूमि नेपालमा विगतमा पनि कहिले नेपाली बौद्ध भिक्षुहरूलाई देश निकाला गर्ने, कहिले बौद्ध संस्कृति सम्पदाहरूमाथि अतिक्रमण गर्ने इतिहास निरन्तर दोहोरिरहेको छ ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।