चुडामणि तिमल्सिना
२१ मंसिर २०७७
काभ्रे स्थित वेथाञ्चोक गाउँपालिका प्राकृतिक सम्ंपदाका हिसाबले काभ्रेका पाँच नगर तथा सात गाउँ पालिकाहरु मध्येको पहिलो धनी गाउँपालिकाको रुपमा पर्दछ । तर यसको आवश्यक प्रचार प्रसार हुन नसक्नु र संबन्धित निकाय वडा, गाउँपालिकाले बेलैमा ध्यान जान नसक्दा यस्ता सार्वजनिक महत्व बोकेका ऐतिहासिक एवं प्राकृतिक झर्नाहरु ओझेलमा परेका हुन ।
वेथाञ्चोक गाउँपालिकाको ६ ओटा वडाहरु मध्ये वडा नं १ च्याम्राङवेसी हो, जुन क्षेत्रमा मात्र साना ठूला गरि भण्डै ६ ओटा झर्नाहरु पर्दछन् जो पर्यटकहरुका लागि अत्यन्तै मनमोहक हुने गर्छन् ।
यसको उचित संरक्षण र संवद्र्धन गर्न सके वडा कार्यालय एवं सिंङ्गो गाउँपालिकाको राम्रो स्थाई आम्दाानीको स्रोतकोरुपमा विकाश गर्न सकिन्छ यि झर्नाहरुलाई ।
राजधानी काठ्माण्डौबाट २७ किलो मिटरको दुरिमा रहेको काभे्रको दोश्रो ब्यापाररिक नगरि पनौतीबाट २६ कि.मीको दुरीमा रहेको च्याम्राङवेसी बसमा लगभग दुई घण्टाको यात्रा पछि च्याम्राङवेसी पुग्न सकिन्छ ।
यहाँ रहेका सामान्य खालका २/४ ओटा होटल सहित संचालनमा रहेका पसलहरु यहाँ आउने आगन्तुकहरुको स्वागतका लागि रहेका हुन्छन् । आगन्तुकहरुको माग अनुसार खाना र बासको व्यवस्था मिलाउन समस्या छैन त्यहाँ । त्यसैले सहजरुपमा झर्ना अवलोकन गर्न आउने आगन्तुकहरुले बिना कुनै ठुलो तयारी यस स्थानमा रहेका मनोरम झर्नाहरुको दृष्यावलोकन गरि फर्कन सक्दछन् ।
वेथान्चोक गाउँपालिका वडा नं १ को केन्द्र बिन्दुको रुपमा परिचित च्याम्राङवेसीबाट लगभग आधा घण्टाको पैदल यात्रा पश्चात पुग्न सकिन्छ तीन तले झर्नामा । त्यहाँ पुगेपछि पर्यटकहरुले तीन तले झर्नाको बनाओट र झर्नाको छालसंगै आनन्दित हुन सक्नेछन् भने त्यस पछिको यात्रा सुरु हुन्छ इन्द्रेणी झर्ना तिरको । च्याम्राङवेसी देखि १५ मिनेट पैदल यात्रापछि पुग्न सकिने उक्त इन्द्रेणी झर्ना जहाँ घाम लागेको समयमा जुन कुनै बेला इन्द्रेणी परेको अनौठो सप्तरंगी दृष्यको सुन्दरता नियाल्न सकिन्छ ।
त्यसपछि सुरु हुन्छ यात्रा रतन भर्ना तिरको । यस वडामा रहेका ६ ओटा झर्नाहरु मध्ये तीन ओटा झर्ना यसै रतन खोलामा पर्दछन् महाभारत क्षेत्रकै उच्च स्थान बेथाञ्चोक नारायणस्थानको फेदीबाट बग्दै आएको रतन खोला जो धेरै उचाईबाट तल झर्दाको दृष्यले प्राकृतिक सौन्दर्यताको उजागर गरेको महसुस हुन्छ भने तीन ओटा झर्नाहरु यहि रतन खोलामा रहेका छन् ।
त्यस्तै माथी उल्लेखित झर्नाहरु मध्येको सबैभन्दा आकर्षक र मनोरम झर्ना भनेको वेथाञ्चोक–१ र खानिखोला गाउँपलिकाको सिमानामा पर्ने छ्याङ्छ्याङ खोलामा रहेको छ । सो झर्ना कलाङसिड देखि ३ किलो मिटरको दुरिमा रहेको छ यहाँसम्म पुग्न मोटरबाटोको सुविधा भएता पनि यो बाटोमा यातायातको उपलब्धता भने छैन ।
समुद्री सतहबाट १९ सय मिटरको उचाईमा रहेको यो झर्ना करिब ३ सय मिटरको उचाईबाट तल झरेको दृष्यावलोकान गर्दा साच्चै सृष्टिको श्रृजना मध्ये संसारको एक उत्कृष्ठ प्राकृतिक श्रृजना भित्र पर्ने महसुस हुन्छ भने यस स्थानबाट दक्षिणतर्फ नियाल्दा मकवानपुरका समथर फाँटहरुदेखि सिन्धुली, रौतहट, बारा, पर्सा लगायतका तराईका मनोरम भू–भागहरुको यस स्थानबाट दृष्यावलोकन समेत गर्न सकिन्छ ।
यसरी एउटै वडा भित्र रहेका यी प्रकृतिको उपहारका रुपमा सिर्जना गरेका झर्नाहरुको संरक्षण, संवद्र्धनका र
प्रचार प्रसारका निम्ति तत्काल अध्ययन सुरु गर्दै उचित निति तथा कार्यक्रमको निर्माण गरिने वेथाञ्चोक गाउँपालिका वडा नं. १ का वडाध्यक्ष सोमनाथ घिमिरे बताउँछन् ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।