२४ मंसिर २०७७
नमोबुद्ध । काभ्रे जिल्लाको नमोबुद्ध नगर युवा परिषदमा मनोनित सदस्यहरुको सपथ ग्रहण बुधबार सम्पन्न भएको छ । नगरपालिकामा आयोजित कार्यक्रममा नगरप्रमुख एवं नगर युवा परिषदका अध्यक्ष टिपी शर्मा तिमल्सिनाले परिषदका सदस्यहरुलाई सपथ ग्रहण गराएका थिए ।
नमोबुद्ध नगर युवा परिषदको कार्यविधिअनुसार १३ जना विभिन्न क्षेत्रबाट परिषदको सदस्यमा मनोनित भएका छन् । सपथ ग्रहण गराउँदै नगर प्रमुख तिमल्सिनाले युवाहरुसँग साझेदारी गर्दै समृद्ध नगर निर्माणको अभियानमा लागिरहेको र आगामी दिनमा पनि युवाहरुको सहकार्य र खबरदारी जरुरी रहेको बताए । नगर युवा परिषदकै पहलमा नमोबुद्धमा केन्द्रीयस्तरको युथ इनोभेसेन सेन्टर निर्माणको काम सुरु भएको जानकारी दिँदै तिमल्सिनाले बेथिति अन्त्यका लागि युवाहरुको भूमिका महत्वपूर्ण रहने बताए ।
कार्यक्रममा नमोबुद्ध नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष बुद्धसिं तामाङ, वडा नं. १० का वडा अध्यक्ष रामकृष्ण अधिकारी, वडा नं. ११ का वडा अध्यक्ष कृष्णवहादुर तामाङ, युवा परिषदका कार्यकारी उपाध्यक्ष अशोक खनाल लगायतले युवाहरुको शसक्तिकरणमा नगरपालिकाले सधैं सक्रिय भूमिका खेल्ने प्रतिवद्धतासहित परिषदका सदस्यहरुलाई शुभकामना व्यक्त गरे ।
कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेल, शिक्षा शाखा प्रमुख जनार्दन रिजाल, नमुना युवा संसदका प्रधानमन्त्री सञ्जीव न्यौपाने लगायतको उपस्थिति रहेको थियो ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।