२५ मंसिर २०७७
तेमाल । वागमती प्रदेश सभा सदस्य सांसद रत्न ढकालले तेमालमा नमुना विद्यालयको नभएकोमा दुःख व्यक्त गरेका छन् । तेमाल गाउँपालिका वडा न. १ स्थित जनचेतना माविको घेराबार उद्घाटन तथा शैक्षिक सामाग्री वितरण कार्यक्रमलाई सम्बोधन गर्दै सांसद ढकालले दुःख व्यक्त गरेका हुन् ।

‘तेमालमा एउटा पनि नमुना विद्यालय नहुँदा दुःख लागेको छ । तेमालमा एउटा पनि नमुना विद्यालय छैन, अचम्म लागिरहेको छ । ’ ढकालले भने, ‘गाउँपालिकालाई सोध्न चाहन्छु म, किन प्रस्ताव ल्याउन सकेन ? हामीले नमुना विद्यालयको रुपमा केवल प्रोजेक्टमा मात्रै नमुना विद्यालय होइन, प्रतिस्पर्धा गराएर सबैभन्दा टप रिजल्ट ल्याउन सक्ने, जहाँको विद्यार्थीसँग पनि प्रतिस्पर्धा गर्न सक्ने जनशक्ति यहाँ हामीले उत्पादन गरौं ।’

उनले मुख्यकुरा शिक्षा भएकोले गुणस्तरीय शिक्षा तथा प्राविधिक शिक्षा प्रदान गर्न तेमाल गाउँपालिकालाई ध्यानकार्षण समेत गराए । ‘मुख्य कुरा शिक्षा हो । साना साना नानीहरुलाई राम्रो शिक्षा दिन सकेनौं भने जति विकासका कुरा, जति समृद्धिको कुरा गरेपनि, समाजवादको कुरा गरेपनि लक्ष्य पूरा हुन सक्दैन ।’ सांसद ढकालले भने, ‘शिक्षाको क्षेत्रबाट जुन ढंगले विकास गर्नुपर्ने हो, गुणस्तरीय शिक्षा प्रदान गर्नुपर्ने हो, प्रावधिक शिक्षा प्रदान गर्नुपर्ने हो, त्यो दिशामा हामीले कदम चालेका छौं ? तेमालले यो कदम चालेको छैन, मैले पटक पटक ध्यानाकर्षण गराएको छु ।’

तेमालमा गुणस्तरीय शिक्षाको योजना खोइ ? -इन्द्र तामाङ
यसैबीच कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा जिल्ला कमिटि सदस्य इन्द्र तामाङले शिक्षालाई गुणस्तर बनाउने तेमाल गाउँपालिकासँग कुनै पनि प्रकारको योजना नभएको बताए । शिक्षाको नाममा विनियोजन गरेको सबै बजेट तालिम र भत्तामे सकाएको उनेको आरोप छ ।

‘तेमालमा गुणस्तरीय शिक्षाको लागि कुनै प्लान छ ? विगतमा विनियोजन गरेको बजेटहरु के कसरी कार्यन्वयन भयो ?’ नेता तामाङले भने, ‘हामीसँग सबै हिसाब किताब छ, त्यसको हिसाब किताब अब हामी कुनै दिन गरौंला । बजेटको व्यवस्था गरेपनि तालिमको नाममा बजेट सिध्याउने काम गरेको छ । तालिम र भत्तामै बजेट सकाएको छ ।’
शिक्षकहरुले पनि अब परिणाम निस्कने तरिकाले पढाउनुपर्नेमा उनेको जोड थियो ।
विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण
कार्यक्रममा उर्मती एसोशियसन, फ्रान्सका अध्यक्ष पासाङ डोल्मो तामाङले उक्त विद्यालयका सबै विद्यार्थीहरुलाई शैक्षिक सामाग्रीहरु वितरण गरेका थिए ।

यस अघि पनि विभिन्न विद्यालयमा सहयोग गर्दै आएकी तामाङले ५ हजार थान कापी, सिसाकलम, डट्पेन, इरेजर लगायतका समाग्री वितरण गरेकी थिइन् । शैक्षिक सामाग्री वितरण प्रदेश सांसद रत्न ढकाल र अध्यक्ष तामाङले संयुक्त रुपमा गरेका थिए ।

कार्यक्रममा वडा नं. १ का वडा अध्यक्ष मानबहादुर श्रेष्ठ, तेमाल गाउँ शिक्षा शाखा प्रमुख केदर ढकाल, विद्यार्थी नेता पदमबहादुर तामाङ लगायत विभिन्न विद्यालयका अध्यक्ष, प्रधानाध्यापक र अभिभावकको उपस्थिति रहेका थिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष च्याङबा लामाको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन शिक्षक बुद्धिमान तामाङले गरेका थिए भने स्वागत शिक्षक केशव प्साद पाण्डेले गरेका थिए ।

प्रदेश सांसद ढकालले १५ लाख रुपैयाँ बजेट विनयोजन गरि उक्त विद्यालयको घेराबार निर्माण भएको थियो ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।





















