अशोक बुद्ध लामा, २९ मंसिर २०७७
बनेपा । देशैभरि सरकारको विरुद्ध प्रदर्शन गर्ने क्रममा नेपाली काँग्रेस पार्टी, काभ्रेले पनि प्रदर्शन गरेको छ । विरोध प्रदर्शनमा काभ्रे जिल्लामा सयौंको संख्यामा सहभागी रहेका थिए ।
काँग्रेसले बनेपाको गोदामचोकमा रहेको पार्टी कार्यलयबाट सुरु भएको र्याली तीन दोबाटोमा पुगेर कोण सभामा परिणत भएको थियो । कोण सभालाई सम्बोधन गर्दै नेपाली कांग्रेसका संगठन विभाग प्रमुख गोपालमान श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा जंगे बन्न खोजेको आरोप लगाए । ‘ओली राज्यका सबै अधिकार आफूमा राखेर जङ्गे बन्न खोजेको छ ।’ नेता श्रेष्ठले भने, ‘प्रधानमन्त्रीमा हुँदै नभएका अधिकार प्रयोग गरेर ओली सरकार आफूलाई जङ्गे सम्झेर अगाडि बढ्दा मुुलुक पुनः अस्थितरता तर्फ गएको छ ।’
कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य बद्री पाण्डेले ओली सरकारका कारण राजतन्त्रबादी सडकमा आएको बताउदै संङघीय लोकतान्त्रिक गणतन्त्रण रक्षाका लागि कांग्रेस सडक र सदनमा आउन बाध्य भएको बताए । त्यसैगरि नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं ट्रेड युनियन विभागका संयोजक शिवप्रसाद हुमागाईले प्रजातन्त्रको विकल्प प्रजातन्त्र मात्रै भएको बताउदै मुलुकले पुनः निरकुंशताको कल्पना गर्न नसक्ने बताए ।
नेपाली कांग्रेसका जिल्ला सभापति मधुप्रसाद आचार्यले नेकपा सरकारले पूर्वाग्राही, जोडघटाउ, नाफा घाटाको राजनीति अगाडि बढाएकाले मुलुकले परिकल्पना गरे अनुसारको दिशा पहिल्याउन नसकेको बताए ।
कोणसभालाई जिल्ला उपसभापतिद्वय अच्युत पौडेल र गोबिन्द बहादुर थापा लगायतले सम्बोधन गरेका थिए । उनीहरुले सरकारका गलत कामको भण्डाफोर, बरिष्ठ नेता पौडेलमाथीको सरकारको प्रहारका विषयमा चर्चा गरेका थिए ।
विरोधसभामा पूर्व राज्यमन्त्री कन्चन वादे, सभासद तिर्थ लामा, क्षत्रीय सभापति महेश खरेल, रमेश हुमागाई, विदुर घिमिरे, राम लामा, प्रदेशसभा उम्मेदवार सिवी लामा, गणेश लामा, सुन्दरमणी आचार्य लगायत जिल्ला कार्यसमिति, विभिन्न नगर समिति, गाउँ समिति, वडा समिति, भातृ एवं सुभेच्छुक संघसंस्थाको सहभागिता रहेको थियो ।
र्यालीमा सरकार भ्रष्ट्राचार, कुशासन र अधिनायकवादतर्फ उन्मुख भएको, चारैतिर भ्रष्टाचार, जनताले चिन्यो ओली सरकार, जनता कोरोनाको मारमा नेकपा सत्ताको जितहारमा, औषधि छैन मल छैन, सत्ताको लडाइँ, लाज छैन, बढ्यो महिला हिंसा र बलात्कार, अकर्मण्य भो ओली सरकार, ७० करोड कहाँ गयो, जस्ता नारा लगाएका थिए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।


















