१ पौष २०७७
नमोबुद्ध । काभ्रे जिल्लाको नमोबुद्ध नगरपालिकामा नगरभित्रका युवाहरुसँग परामर्श कार्यक्रमको थालनी गरेको छ । नगर युवा परिषद्ले युवालाई उद्यमशीलतातर्फ आकर्षित गर्न तथा समाजमा शुसासन र पारदर्शिता कायम गर्दै दिगो बिकासका अवधारणालाई युवाहरु मार्फत स्थानियकरण गर्ने लक्ष्य सहित युवा परामर्शका कार्यक्रम सुरु गरेको हो ।
सोही क्रममा नगरपालिकाको वडा नंं. ११ भित्रका युवालाई सोमबार परामर्शको कार्यक्रम गरेको छ । नगर युवा परिषद्का कार्यकारी उपाध्यक्ष अशोक खनालको अध्यक्षतामा नगर प्रमुख टिपी शर्मा तिमल्सिनाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नमोबुद्ध नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत राजन पौडेल, नगर युवा परिषद्का सदस्य सचिव एवं शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख जनार्दन रिजाल, वडा नं १० का वडा अध्यक्ष रामकृष्ण उपाध्याय, वडा नं ११ का वडा अध्यक्ष कृष्ण बहादुर तामाङ नगर युवा परिषद्का सदस्य लगायत ४० जना युवाहरुको सहभागिता थियो ।
कार्यक्रममा नगर प्रमुख तिमल्सिनाले नगरपालिकाभित्र युवाहरुको उद्यमशिलता रोजगारीका लागि सहुलियतपूर्ण कर्जा प्रवाहलाई सहज बनाउने, युवाहरुको क्षमता बिकाश गर्दै नगरलाई युवामैत्री नगर बनाउने प्रतिवद्धता व्यक्त गर्दै यस्को सुरुवात ११ नम्वर वडाबाट भएको बताए ।
नगर प्रमुख तिमल्सिनाले युवाहरुलाई पारदर्शिता र शुसासनको पहरेदार बन्न आग्रह गर्दै संबृद्ध नगरको सपना युवाहरुको संलग्नतामा मात्र संभव हुने बताए ।
कार्यक्रममा नगर युवा परिषदका कार्यकारी उपाध्यक्ष अशोक खनालले परिषद् मार्फत युवाहरुलाई परामर्श तथा सशक्तिकरणका साथैसाथै उद्यमशिलतामा लाग्नका लागि सीपमुलक, आयमुलक तालिम संचालन गर्ने, सहुलियतपूर्ण कर्जा प्रवाह र वित्तीय साक्षरता लाई बस्ती बस्तीका युवाहरुमाझ पुर्याउने प्रतिवद्धता व्यक्त गरे ।
यस्तै नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेलले युवाहरुलाई सत्मार्गमा लाग्न प्रेरित गर्दै बिकासमा पछाडि परेका गाउँ र बस्तिहरुबाट युवाका गतिबिधिको सुरुवात आफैमा एउटा परिवर्तनको सुरुवात भएको बताए । उनले युवाहरुलाई स्थानिय श्रोत र साधनको संभाव्यतालाई समेत मध्यनजर गर्दै उद्यमशिलतामा लाग्ने युवाहरुका लागि नगरले बिशेष प्राथमिकताका साथ कार्यक्रम संचालन गरीेनेमा जोड दिए ।
कार्यक्रममा उपस्थित युवाहरुले सहुलियतपूर्ण कर्जा प्रवाहलाई सहज बनाउन तथा युवाहरुको आवश्यकताको अधारमा बिभिन्न शिपमुलक र आयमुलक तालिमका साथै अनुदानका लागि नगरपालिका तथा नगर युवा परिषद्लाई आग्रह गरेका छन् ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















