१ पौष २०७७
नमोबुद्ध । तामाङ समुदायको बहुल्यता रहेको काभ्रेको नमोबुद्ध नगरपालिकाको कार्यालयमा दुईवटा भाषामा ध्वनीसहितको बडापत्र राख्ने काम भएको छ । नेपाली भाषा र तामाङ भाषामा रहेको उक्त वडापत्रको शुरुवात आज (बुधबार) एक कार्यक्रमका बीच नगर प्रमुख टिपी शर्मा तिमल्सिनाले गरेका छन् ।
यससँगै राष्ट्रभाषामा ध्वनीसहितको वडापत्रको व्यवस्था गर्ने पहिलो स्थानीय तहको रुपमा नमोबुद्ध नगरपालिका दर्ज भएको छ ।
अब कार्यालय सुरु हुनेबेला राष्ट्रिय गान र नगर गानपछि कर्मचारी कार्यालय प्रवेश गर्नेछन् भने त्यसपछि बडापत्र पढ्न नसक्ने सेवाग्राहीलाई लक्षित गर्दै ध्वनीसहितको बडापत्र प्रशारण गर्ने व्यवस्था गरिएको छ ।

 

तामाङ समुदायको बहुल्यता रहेको यस नगरपालिकामा जनताको संवैधानिक अधिकार अनुसार तामाङ भाषामा ध्वनी सहितको वडापत्र राखिएको नगरप्रमुख शर्माले बताए । ‘यो नगरमा तामाङ जाति समुदायको बहुल्यता रहेको छ । संवैधानिक अधिकारको प्रत्याभूति दिलाउन र आफ्नै भाषामा वडापत्र पाएपछि सेवालिन जनतालाई सजिलो हुन्छ ।’ शर्माले भने, ‘त्यसैले तामाङ भाषामा ध्वनीसहितको वडापत्र हामीले राखेका छौं । यो तामाङ समुदायप्रति सम्मान पनि हो ।’
इ–पेमेन्ट शुरु
नमोबुद्ध नगरपालिकामा सेवाग्राहीलाई लक्षित गर्दै इ–पेमेन्ट सेवा सुरु भएको छ । बुधबार एक कार्यक्रमकाबीच नगर प्रमुख तिमल्सिनाले इ–पेमेन्ट सेवा सुरु गरे । तिमल्सिनले नगरपालिकाको राजस्व डिजिटल प्रणाली मार्फत भुक्तानी गरी इ–पेमेन्ट सेवा सुरु गरेका हुन् ।

अब सेवाग्राहीले घरमै बसी इसेवा तथा खल्ती एप प्रयोग गरेर राजस्व बुझाउन सकिने नगरप्रमुख तिमल्सिनाले बताए । यो सेवा सुरु भएसँगै नगरबासीले सम्पति कर, घर वहाल कर लगायतका कर एवं राजस्व तिर्नका लागि नगरपालिकासम्म धाउनुपर्ने बाध्यताको अन्त्य भएको छ ।
४ नं. वडा कार्यालय अनलाईन मार्फत राजस्व
बुधबार नै वडा कार्यालयबाटै अनलाइनमार्फत राजस्व तिर्नसक्ने सेवा पनि सुरुवात गरिएको छ । नगर प्रमुख तिमल्सिनाले वडा नं. ४ का वडा अध्यक्ष उद्धवप्रसाद काफ्लेलाई राजस्व रसिद हस्तान्तरण गर्दै सेवा सुरुवात गरे । अहिले वडा नं. ४ बाट सुरु भएको यो सेवा क्रमश ११ वटै वडामा पु¥याउने लक्ष्य राखिएको छ ।
सेवाग्राहीलाई चिया
नमोबुद्ध नगरपालिकाले नगरपालिकामा विविध कामले आउने सेवाग्राहीलाई चिया एवं तातोपानीको व्यवस्थासमेत गरेको छ । बुधबार नै नगर प्रमुख तिमल्सिनाले तातो पानी सेवन गरेर यो सेवाको समेत सुरुवात गरेका छन् ।

अटोमेटिक सेनिटरी प्याडको व्यवस्था
यसैगरी नगरपालिकामा महिला कर्मचारी एवं महिला सेवाग्राहीको सुविधाका लागि अटोमेटिक सेनिटरी प्याड डिस्पेन्सरको समेत सुरुवात गरिएको छ । यो सेवाको सुरुवात बुधबार नै नगर उपप्रमुख रामदेवी तामाङले गरेकी छन् । नगरपालिका कार्यालयलाई थप महिलामैत्री बनाउने उद्देश्यसहित यो सेवाको सुरुवात गरिएको नगरपालिकाले जनाएको छ ।

कार्यालय परिसरमा फ्रि वाइफाइ सेवा
यसैगरी नगरपालिका परिसरमा बुधबारबाटै फ्रि वाइफाइको व्यवस्थापन समेत गरिएको छ । नगर प्रमुख शर्माले फ्रि वाइफाइको साइबोर्ड वाचन गरेर उक्त सेवाको उद्घाटन गरेका थिए ।
कार्यक्रममा नगरप्रमुख तिमल्सिनाले डिजिटल नमोबुद्धको अवधारणालाई साकार पार्ने उद्देश्यसहित यो कार्यक्रमको थालनी गरिएको बताए । उनले भाडामा रहेको नगरपालिका कार्यालयलाई १४ महिनाभित्रै निर्माण गरेर आफ्नै भवनमा सारिएको, कार्यालयलाई प्रविधिमैत्री बनाउँदै लगिएको, सबै वडा कार्यालयहरु निर्माणको कार्य तीब्ररुपमा अघि बढेको, सबै वडामा स्वास्थ्य संस्थाका भवन निर्माण गरिएको तथा नगरभित्रै उच्चशिक्षामा प्राविधिक शिक्षाको व्यवस्थापन गरिएको पनि बताए ।
यस्तै उपप्रमुख रामदेवी तामाङले जनताको सेवा सुविधाका लागि नगरपालिका प्रतिवद्ध रहेको भन्दै सोही अनुसार भौतिक पूर्वाधार निर्माणका साथै प्रविधिको उच्चतम प्रयोग गर्न लागिएको बताइन् । उनले कर तिर्नका लागि सहज अवस्था बनाइएको भन्दै जनताको करबाट जनताकै सेवा गर्ने पनि बताइन् । उनले कर तिर्नु जनताको दायित्व भएको भन्दै त्यसको सही सदुपयोग गर्नु जनप्रतिनिधि र कर्मचारीको कर्तव्य भएको बताइन् ।
यस्तै नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेलले सेवाग्राहीको सुविधाका लागि अधिकृतमरुपमा नयाँ प्रविधिको उपयोग गर्न थालिएको बताए । अहिले यसको सुरुवातमात्रै भएको भन्दै उनले आगामी दिनमा यसलाई थप परिस्कृत र निरन्तरता दिने बताए ।
२ जना विद्यार्थीलाई सहयोग रकम हस्तान्तरण
कार्यक्रमकै अवसरमा नगर प्रमुख तिमल्सिनाले आफूले उच्च शिक्षाका लागि अभिभावकत्व ग्रहण गरेका दुईजना विद्यार्थीका लागि छात्रवृत्ति रकमसमेत प्रदान गरे । उनले नमोबुद्ध ४ मा रहेको जनक माविमार्फत कक्षा १२ मा पढिरहेका शिवराज चिमौरिया र दिपेश गौतमका लागि छात्रवृत्तिवापतको रकमको चेक हस्तान्तरण गरेका हुन् ।

अघिल्लो बर्ष दुई विद्यार्थीका लागि कक्षा ११ मा पढ्न लाग्ने खर्च ६५ हजार रुपैयाँ प्रदान गरेका तिमल्सिनाले बुधबार थप ६५ हजार रुपैयाँको चेक हस्तान्तरण गरेका छन् । नगरप्रमुख तिमल्सिनाले हालसम्म ७ जना बालबालिकाको शिक्षाका लागि अभिभावकत्व ग्हण गरेका छन् । उनले आफ्नो व्यक्तिगत रकमबाट ती बालबालिकाको शिक्षाका लागि सहयोग गर्दै आएका छन् ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।