१ पौष २०७७
धुलिखेल । काभ्रे जिल्लाको पनौति नगरपालिका वडा नं. ९ मा रहेको देवीथान सामुदायिक वन भित्र जुवाडीहरु पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी डिएसपी कुमार विक्रम थापाका अनुसार मंगलबार उनीहरु पक्राउ गरेका हुन् ।
डिएसपी थापाका अनुसार धेरै संख्यामा रहेता पनि २ जना मात्र पक्राउ परेको छ भने बाँकी फरार रहेका छन् । पक्राउ पर्नेहरुमा पनौती नगरपालिका वडा नं. ०९ बस्ने कृष्ण बहादुर राउतको छोरा वर्ष ३९ को गोबिन्द राउत र रोशी गाउँपालिका वडा नं. ०१ बस्ने कोचनाथ न्यौपानेको छोरा वर्ष २९ को राज कुमार न्यौपाने रहेका छन् ।
जुवाडेहरुलाई नियन्त्रणमा लिन खोज्दा आ–आफ्नो सवारी साधानहरु समेत सोही जंगलमा छाडी केही उनीहरु भागेका थिए । त्यस स्थानबाट नेपाली रुपैया १ लाख १ सय २० रुपैयाँ नगद र १६ बुक तास, कार्पेट थान–२ समेत बरामत गरिएको प्रहरीले जनाएको छ ।
साथै उक्त स्थानबाट गाडी २ वटा, मोटरसाईकल १० वटा र स्कुटी १ वटा नियन्त्रणमा लिएको डिएसपी थापाले जानकारी दिए फरार रहेका अन्य व्यक्तिहरुको तदारुक्ताका साथ खोजतलास भई रहेको उनले बताए ।
पक्राउ परेकाहरुलाई ‘मुलुकी फौजदारी संहिता–२०७४’ को दफा १२५ को उपदफा १ बमोजिमको कसुरमा जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकबाट म्याद थप अनुमती लिई आवश्यक अनुसन्धान भईरहेको व्यहोरा बताइएको छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















