२ पौष २०७७
रोशी । काभ्रे जिल्लाको रोशी गाउँपालिकाको गाउँ कार्यपालिकाको बैठकले ६ वटा निर्णय गरेको छ । आज बसेको नियमित बैठकले उक्त निर्णय गरेको गाउँपालिकाका प्रवक्ता पदम लामाले जानकारी दिएका छन् ।
बैठकले रोशी गाउँपालिका वडा नं. १ निर्माण हुने १० शैयाको अस्पताल भवनको संलग्न अनुसारको लागत स्टीमेट स्वीकृत गर्ने निर्णय गरेका प्रवक्ता लामा बताए । बैठक पछि निर्णय सार्वजनिक गर्दै लामाले उक्त अस्पताल भवन निर्माणको लागि १० करोड ८३ लाख २६ हजार रुपैयाँ बराबरको टेन्डर गर्ने निर्णय गरेको जानकारी दिए ।
गाउँपलिकाले अस्पतालको डाक्टरलाई थप सेवा सुविधा दिने
त्यसैगरि अस्पतालको निम्ति डाक्टरको लागि विज्ञापन गरिएको तर कुनै पनि दरखास्त नपरेको हुनाले नेपाल सरकारले उपलब्ध गराएको आठौ तहको तलब स्केलको आधारमा मात्र गाउँपालिकाले उपयुक्त जनशक्ति नपाउने भएपछि सेवासुविधा बढाउने निर्णय समेत भएको लामाले जानकारी दिए । उनका अनुसार आजको कार्यपालिकाको बैठकले अस्पताल सञ्चालनमा नै समस्या हुने देखिएकाले नेपाल सरकारले तोकिएको तलबका अतिरिक्त प्रति महिना २० हजार रुपैयाँका दरले थप सेवासुविधा दिने निर्णय गरेको छ ।
६० वर्ष नाघेका स्वयंसेवीलाई सम्मान सहित विदाइ गर्ने
गाउँ कार्यपालिकाको बैठकले ६० वर्ष नाघेका स्वयंसेवीहरुलाई सम्मानका साथ विदाई गर्ने निर्णय गरेको छ । ‘गाउँपालिकामा लामो समयदेखि कार्यरत ६० वर्ष भन्दा धेरै उमेर पुगेका १९ जना स्वयंसेवीकाहरुलाई जनही २० हजार रुपैयाँ नगद सहित सम्मान जनक रुपमा विदाइ गर्ने निर्णय भएको छ ।’ प्रवक्ता लामाले बताए ।
विद्यालय सम्बन्धी महत्वपूर्ण निर्णय
त्यसैगरि बैठकले गाउँपालिका अन्तर्गत सञ्चालित सामुदायिक विद्यालयहरुको आर्थिक वर्ष २०७६।७७ को लेखापरिक्षण गर्न विद्यालय शिक्षा सञ्चालन, व्यवस्थापन नियमन कार्यविधि २०७५ को दफा ९१ को व्यवस्था अनुसार लेखापरीक्ष गर्न ११ जना लेखापरीक्षक नियुक्ति गर्ने निर्णय गरेको छ । त्यस्तै शून्य दरबन्दी रहेको रहेका विद्यालयहरुमा शिक्षक व्यवस्थापन गर्न तथा शैक्षिक पहुँच तथा सिकाई गुणस्तर प्रवद्र्धन गर्न निम्नमाध्यमिक तहका ५ वटा र प्राथमिक तहका १ वटा शिक्षण अनुदान स्वीकृत गर्ने निर्णय गरेको उनले बताए ।
प्रशासकीय भवन निर्माण प्रक्रिया अगाडि बढाउने
गाउँपालिकाको प्रशासकीय भवन निर्माणको लागि जग्गा प्राप्ति भएकोले आव भवन निर्माणको लागि प्रक्रिया अगाडी बढाउने बैठकले निर्णय गरेको प्रवक्ता लामाले जानकारी दिए । ‘गाउँपालिकाकाले प्रशासकिय भवन निर्माणका लागि जग्गा प्राप्ति गर्न मिति २०७६।११।०७ गतेको कार्यपालिका वैठकले निर्णय गरे बमोजिम जग्गा प्राप्त भएकोले उक्त जग्गाको सिमांकन गरी जग्गा विकास गर्न (सम्याउने, डेन, निर्माण वाल निर्माण) संलग्न लागत स्टीमेट बमोजिमको रकम गाउँपालिका भवन निर्माण शिर्षकमा विनियोजन रकमबाट तत्काल गर्ने निर्णय भएको छ ।’ लामाले भने, ‘बाँकी रहेको रकमबाट आल्मुनियम पार्टेशन सहितको अस्थायी भवन निर्माणको लागि र स्थायी भवन निर्माणको डिजाइनिङको लागि प्रकृया आरम्भ गर्ने निर्णय गरिएको छ ।’
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।