५ मंसिर २०७७
काभ्रे । संघीय सरकारको सहरी विकास राज्य मन्त्री रामवीर मानन्धरले नेकपाका अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड युग पुरुष रहेको बताएका छन् । काभ्रे जिल्ला चौंरीदेउराली गाउँपालिका वडा नं. २, नाग्रेगगर्चेमा तामाखानी एकीकृत नमुना बस्तीको शिलान्यास गर्दै राज्य मन्त्री मानन्धरले उक्त कुरा बताएका हुन् ।
‘नेपालको इतिहासमा धरै मान्छेहरु जन्मे होलान, एउटा युगमा एकजना युग पुरुष जन्मिन्छ भन्ने छ तर आज नेपालमा दुईजना युगपुरुषहरु जन्मेका छन् त्यो भनेको केपी ओली र प्रचण्ड हुन् ।’ उनले भने, ‘मैले यो कुरा किन भनेको भने यो दुईटा अध्यक्षले पार्टी नमिलाएको भए फेरिपनि यो देशमा पाँच–पाँच महिना, नौ–नौ महिनामा सरकार फेरिरहन्थ्यो ।’
ओली र प्रचण्ड युगपुरुष भएकोले दुवै जना मिलेकोले स्थायी सरकार निर्माण गर्न सकेको मानन्धरले दावी गरे ।
समृद्ध नेपाल सुखी नेपाली बनाउन सकेनौं भने अविशाप हुने बताउँदै उनले समृद्ध नेपाल बनाउन यो सरकार बाहेक अरुले नसक्ने दावी समेत गरे ।
उनले विगतमा भएको विभिन्न प्रकारको संघर्ष गलत नभएको बताउँदै स्थायी सरकार प्राप्त भएकोमा सबै खुशी हुनेपर्नेमा जोड दिए । ‘हामीले गरेको संघर्ष गलत थिएन । ७० वर्ष पछि पाँचवर्षे सरकार गठन भएको छ । खुशीको कुरा हो ।’ राज्यमन्त्री मानन्धरले भने, ‘समृद्ध नेपाल सुखी नेपाली बनाउनका लागि तपाईंहरुले दिएको मत नेकपालाई हो । नेपाली जनताको चाहना हामीले पूरा गर्न सकेनौ भने नेपाली जनताले के सोच्लान् ?’

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।