काभ्रे । जिल्लाको पनौती नगरपालिकाको कार्यालय, कृषि तथा पशुपंछी शाखाले भैसी संरक्षण तथा सर्वद्धन अभियान अन्र्तगत कृषकहरुलाई पाडी वितरण कार्यक्रम पनौती नगरपालिका वडा न. १२ भुमेडाडाँमा शनिबार शुभारम्भ भएको छ । कार्यक्रमको शुभारम्भ पूर्व सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बास्कोटाले गरेका थिए । कार्यक्रममा २८ ओटा पाडी वितरण गरिएको थियो ।
चालु आर्थिक वर्षमा कृषकहरुलाई अनुदानमा ५ सय थोरे उपलब्ध गराएको छ । उत्पादनशील भैंसीको संख्यालाई संरक्षण गर्न र दुध उत्पादनमा निरन्तरता दिलाउन, भैंसीको आनुवांशिक गुणलाई संरक्षण गर्न तथा रोजगारी सिर्जनासहित पनौतीलाई दुधालु भैंसीको स्रोत केन्द्रका रूपमा विकास गर्न नगरपालिकाले भैसी संरक्षण र सम्वद्र्धन कार्यक्रमलाई प्राथमिकता दिएको नगर प्रमुख भिम न्यौपानेले बताए ।
लैनो भैंसी खरीदका लागि पनौती नगरपालिकाभित्रका किसानले वर्षेनी ३ करोड रूपैंया भन्दा बढी रकम बाहिर पठाउने गरेको, नगर क्षेत्रमा रहेका भैंसीको गणना हुँदा ४ हजार ७ सय ४७ रहेको र सो संख्यामा वृद्धि नभएको अवस्था, पशुपालन र दुध उत्पादनमा काभ्रे जिल्लाकै उत्कृष्ट पालिकाका रूपमा पनौती रहेको र आधार वर्षमा नगर क्षेत्रमा उपभोग भइ बाँकी रहेको दुध दैनिक ३५ हजार लिटर बाहिर जाने गरेको अवस्था, उत्पादनशील भैसीलाई पुनः ब्याउने बेलासम्म पाल्ने नगरेको अवस्था, भैंसी पालेका किसानहरूले समेत जन्मेको पाडीलाई हुर्काइ भंैसी बनाएर पाल्नमा अनिच्छा देखाएको, लैना भैंसीलाई महँगो मूल्यमा खरिद गरी ल्याउने तर सामान्य परिमाणमा दुध घट्न थाल्ने बित्तिकै उत्पादनशिल भैंसीलाई विक्री गरि पुनः बढी मूल्य तिरेर लैनो भैसी खरिद गर्ने चलन रहेको, भैंसी बहुउपयोगी र दुधको बजारीकरणमा समस्या नहुँदासमेत युवा जनशक्ति पशुपालन र कृषि व्यवसायमा आकर्षित हुन नसकेका, पनौती नमुनायोग्य भैसीको श्रोत केन्द्र बन्न सक्ने सम्भावना भएर पनि हुन नसकेको र किसानहरू व्यावसायिक बन्न, स्वरोजगार हुन र पशुपालनमा आधारित साना उद्योग सञ्चालन गर्नुभन्दा वैदेशिक रोजगारीमा जान लालायित हुने गरेको अवस्था रहेको नगर प्रमुख न्यौपानले बताए ।
कार्यक्रमका लागि नगरपालिकाले भैसीको तथ्याङ्क संकलन, भैसीको पकेट क्षेत्र निर्धारण, भैसी सुत्केरी भत्ता वितरण पहिलो बेत ब्याएकोलाई ५ हजार र अन्य बेत ब्याएकोलाई २ हजार पाडापाडीको जन्मदर्ता कार्यक्रम, गोठखोर सुधारका लागि अनुदान, पशु विमाको प्रिमियम शुल्कमा ५० प्रतिशत अनुदान, पशु आहाराका लागी घाँसका विउ वितरण र प्रविधि हस्तान्तरण, पशु खोप तथा उपचार सेवा कार्यक्रम तथा अन्य आवश्यकीय भेटेरीनरी सेवाहरू प्रदान गरिएको साथै आर्थिक वर्ष ०७६।७७ मा भैसीका पाडी ३ सय वटा वितरण गरेको कृषि तथा पशुपक्षी शाखाका प्रमुख मणिप्रसाद सापकोटाले बताए ।
त्यसैगरी पनौती नगरपालिकाले वडा नम्वर १, २ र १२ लाई भैसीपालन पकेट क्षेत्र, वडा नम्वर ३, ८ र १० लाई गाई पालन क्षेत्र, ६, ९ र ११ लाई बाख्रा पालन क्षेत्र तथा ४,५ र ७ नम्वर वडालाई तरकारी खेतिको पकेट क्षेत्र घोषणा गरी कार्य गरेको छ ।
कार्यक्रममा बागमती प्रदेश सभा सदस्यद्धय बसुन्धरा हुमागाईं चन्द्र लामा, संबिधान सभाका सदस्य रामहरी सुवेदी पनौती नगरपालिकाका उपप्रमुख गीता बन्जारा, पशुपन्छी प्रवद्र्धन तथा आनुवांशिक स्रोत संरक्षण निर्देशनालय निर्देशक डा. लोकनाथ पौडेल, पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय बागमती प्रदेश निर्देशक डा. रामप्रकाश प्रधान, नेपाल पत्रकार महासंघ काभ्रे शाखा अध्यक्ष मोतिराम तिमल्सिना, प्रमुख पनौती नगरपालिका प्रशासकीय अधिकृत रामप्रसाद वाग्ले, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र धुलिखेलका प्रमुख डा. मोगलप्रसाद शाह, पशुपन्छी प्रवद्र्धन तथा आनुवांशिक स्रोत संरक्षण निर्देशनालयका डा. किरण पाण्डे, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र धुलिखेल राजकुमार हुमागाई, ने.क.पा.पनौती नगर कमिटी अध्यक्ष सहदेव थापा लगायतको उपस्थिती रहेको थियो ।
.
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।





















