९ पौष २०७७
बनेपा । पौष ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको कदमको विरुद्ध काभ्रेमा मशाल जुलुश गरेको छ । अनेरास्ववियू, काभ्रेले ओलीको कदमलाई ‘प्रतिगमनकारी कदम’को संज्ञा दिंदै मशाल जुलुश गरेको हो ।
मशाल जुलुश शुरु गर्ने क्रममा जनपद प्रहरी र शसस्त्र प्रहरीले हस्तक्षेप समेत गरेको थियो । बनेपाको चाँदनी चोकबाट शुरु भएको मशाल जुलुश चारदोबाटो तर्फ जाने क्रममा प्रहरीले हस्तक्षेप गरेका हुन् ।
शुरुमै जुलुशमाथि हस्तक्षप गरिएता पनि विद्यार्थीहरु मशाल बोकेर सडकमा निस्केका थिए । बनेपाका चारदोबाटोमा पुग्नै लाग्दा प्रहरीले मशाल नियन्त्रणमा लिएको थियो ।

विद्यार्थीहरुले ‘दलाल पूँजीवादका नाइके केपी ओली मूर्दावाद’, ‘संसद पुनस्र्थापना गर’, ‘प्रतिगमनकारी कदम–खारेज गर’, ‘पार्टी एकता जिन्दावाद’, भ्रष्टाचारका नाइके केपी ओली–मूर्दावाद’ जस्ता नारा लगाएका थिए ।
जुलुश माथि हस्तक्षप पछि चाँदनी चोकमा जम्मा भएका विद्यार्थीहरुले कोणसभा समेत गरेका थिए । अनेरास्ववियू, काभ्रेका सह–संयोजक युवराज लामाको नेतृत्वमा जुलुश भएको थियो ।

कोणसभालाई सम्बोधन गर्दै सह–संयोजक लामाले प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको कदम जनमत विपरित भएको बताउँदै संसद पुनस्र्थापनाको माग गरे । ओलीलाई पार्टीले कार्वाही गरेकोले प्रधानमन्त्री बन्ने कुनै नैतिक अधिकार नभएको उनले दावी गरे । ‘तानाशाही केपी ओलीले देशलाई नै बन्धक बनाएर नेपाली जनताको महान अभिमत माथि अपमान गरेको छ । आफ्नो निकृष्ट स्वार्थ पूरा गर्न देश र जनतामाथिको यो प्रतिगमनकारी कदम ओलीलाई भारी हुनेछ ।’ लामाले भने, ‘केपी ओलीलाई पार्टीले संसदीय दलको नेता र पार्टी अध्यक्षबाट कार्वाही गरेकोले सरकारको नेतृत्व गर्न कुनै अधिकार छैन ।’
आफूहरुको न्यायपूर्ण आन्दोलन माथि प्रहरी दमन गराएर स्वघोषित प्रधानमन्त्री ओलीले कायरता प्रदर्शन गरेको उनले बताए ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।