१० पौष २०७७
काभ्रे । प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटन र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजनको असर अब प्रदेश सरकारहरुमा देखिन थालेको छ ।
यसैक्रममा वागमती प्रदेश सरकारका विरुद्ध अविश्वासको प्रस्ताब दर्ता गरिएको छ । नेकपाका ४५ जना प्रदेश सांसदहरुको हस्ताक्षर सहित आज ११ः२५ बजे उक्त अविश्वासको प्रस्ताब पेश गरेका हुन् ।
प्रदेश सभा सदस्य सांसद रत्न ढकालका अनुसार उक्त अविश्वासको प्रस्तावको प्रस्तावक शालिकराम जमकट्टेल र समर्थकमा अरुण नेपाल रहेका छन् ।
त्यसैगरि प्रदेशको मुख्यमन्त्रीमा अष्ट लक्ष्मी शाक्यलाई प्रस्ताव गरेको सांसद ढकालले जानकारी दिए ।
३ मन्त्रीद्वारा राजीनामा
यसैबीच सरकारको विरुद्ध अविश्वास प्रस्ताव पेश गर्नु अघि प्रचण्ड–नेपाल पक्षका ३ प्रदेश मन्त्रीहरुले राजीनामा दिएका छन् । राजीनामा दिने मन्त्रीहरुमा आन्तरिक मामिला मन्त्री शालिकराम जमकट्टेल, सामाजिक विकास मन्त्री युवराज दुलाल र उद्योग, सँस्कृति तथा पर्यटन मन्त्री अरुण नेपाल रहेका छन् ।
मुख्यमन्त्री डोरमणी पौडेलको कार्यशैली प्रति असन्तुष्टि जनाउँदै उनीहरुले राजीनामा दिएका हुन् ।

काभ्रेबाट दुई सांसदको हस्ताक्षर
मुख्य मन्त्री पौडेलका विरुद्ध पेश गरेको अविश्वासको प्रस्तावमा काभ्रेबाट दुई जना प्रदेश सांसदहरुले हस्ताक्षर गरेका छन् । हस्ताक्षर गर्ने सांसदहरुमा काभ्रे प्रतिनिधि सभा क्षेत्र नं. १ अन्तर्गत प्रदेश सभा १ नं. क्षेत्रका सांसद रत्न ढकाल र प्रतिनिधि सभा काभ्रे क्षेत्र नं. २ अन्तर्गत प्रदेश सभा क्षेत्र नं. १ का लक्ष्मण लम्साल रहेका छन् । ढकाल प्रचण्ड पक्षका हुन् भने लम्साल नेपाल पक्षका हुन् ।



समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।





















