१२ पौष २०७७
बनेपा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)वागमती प्रदेश सदस्य तथा वागमती प्रदेश सभा सदस्य सांसद बसुन्धारा हुमागाईंले प्रचण्ड–नेपाल पक्षले नेतृत्व गरेको पार्टी मात्र आधिकारी पार्टी भएको बताएका छन् । आज प्रचण्ड–नेपाल पक्षले काभ्रेमा आयोजना गरेको जिल्ला स्तरीय भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै सांसद हुमागाईंले उक्त धारणा राखेका हुन् ।
सांसद हुमागाईंले कार्यक्रमलाई सम्बोधन गर्दै पार्टीको चुनाव चिन्ह सूर्य पनि आफूहरुको हुने दावी समेत गरे । ‘दुईतिहार केन्द्रिय सदस्य भएको पार्टी आधिकारी वा एक चौथाइ भएको पार्टी आधिकारीक ? आज अनावश्यक यो सवाल केपी पक्षले उठाईरहेका छन् ।’ हुमागईंले भने, ‘आधिकारीक पार्टी यहीं हो । त्यसैले म यता सहभागी हुन आएँ । त्यति मात्र होइन, सूर्य चिन्ह पनि स्वभाविक रुपमा दुईतिहाइ केन्द्रीय सदस्य रहेको पार्टीले पाउने हो ।’
उनले प्रधानमन्त्री केपी ओलीले कहीं नभएको अधिकार प्रयोग गरेको बताउँदै संसद पूनःस्थापनाको माग समेत गरे । ‘कहीं नभएको अधिकारी प्रयोग गरेर प्रधानमन्त्रीले संसदको विगटन गरेको छ ।’ उनले भने, ‘लोकतन्त्र र न्यायको लागि आन्दोलन गरे, २०७२ सालको संविधान पायौं । फेरिपनि अर्को आन्दोलन आवश्यक छ अब । भावनामा होइन, सत्य के हो ? पत्ता लगाएर आन्दोलनमा सहभागी हुन म अनुरोध गर्नचाहन्छु ।’
सांसद हुमागाईंले कोही पनि अलमलमा नपर्न अनुरोध गर्दै अब प्रचण्ड–नेपालको नेतृत्वमा भएको पार्टी मात्र आधिकारी भएकोले त्यहीं अनुसार अगाडि बढ्न अनुरोध गरे ।
उनले आफू कुनै आश्वसान पाएर, व्यक्तिगत तुच्छा स्वार्थ पूरा गर्न प्रचण्ड–नेपाल पक्षमा नलागेको स्पष्ट पारे । ‘म कुनै आश्वसानमा यहाँ आएको होइन, कुनै पदको लागि आएको होइन ।’ उनले भने, ‘लोकतन्त्र, संविधानको रक्षाको निम्ति आएको हुँ । सत्य र न्यायका लागि म एक्लै होला तर म लागिरहने छु ।’
ओली पक्ष तिर लाग्ला कि भनेर धेरैले अड्कल गरेका सांसद हुमागाईं ओली पक्षका नेता तथा कार्यकर्ताहरुलाई आश्चर्य पार्दै आजको भेलामा सहभागी भएका थिए । उनको सहभागीताले नेकपाका नेता कार्यकर्ताहरु निक्कै उत्साहित भएका थिए । उनको स्वागतमा तालीको वर्षा निरन्तर भएको थियो ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।





















