१४ पुस २०७७
नमोबुद्ध । जाडो बढेसँगै नमोबुद्ध नगरपालिकाका जनप्रतिनिधिहरु सिरक र पछ्यौरा बोकेर जेष्ठ नागरिकको घरघरमा पुग्न थालेका छन् ।
नमोबुद्ध नगरपालिका वडा नं. ४ को आयोजनामा मंगलबारदेखि वडाभित्रका जेष्ठ नागरिकलाई सिरक र पछ्यौरा वितरण सुरु गरिएको हो
कार्यक्रममा ७० बर्षमाथिका जेष्ठ नागरिकलाई नमोबुद्ध नगरपालिकाका प्रमुख टिपी शर्मा तिमल्सिना, उपप्रमुख रामदेवी तामाङ, प्रमुख प्रशासकीय अधिकृत राजन पौडेल वडा अध्यक्ष उद्धवप्रसाद काफ्ले लगायतले सिरक र पछ्यौरा वितरण गर्दै कार्यक्रमको सुरुवात गरे थिए ।
अब वडाका सबै टोलमा पुगेर सिरक र पाछ्यौरा वितरण गरिने वडा कार्यालयले जनाएको छ । वडाभित्रका ७० बर्ष नाघेका ९२ जना जेष्ठ नागरिकलाई सिरक र पछ्यौरा वितरण गरिनेछ । वडा कार्यालयले चालु आर्थिक बर्षका लागि जेष्ठ नागरिकका लागि छुट्याइएको बजेटबाट सिरक वितरण गरेको हो । यस्तै नगर उपप्रमुख रामदेवी तामाङले व्यक्तिगत तर्फबाट पछ्यौरा उपलव्ध गराएकी छन् ।
कार्यक्रममा नगर प्रमुख टिपी शर्मा तिमल्सिनाले जेष्ठ नागरिकका लागि नगरपालिकाले विगतदेखि नै कार्यक्रमहरु गर्दै आएको र सहयोग निरन्तर रहने बताए । कोही पनि जेष्ठ नागरिकले एक्लो र बेसहारा महसुस गर्नुनपर्ने बताए । नगरपालिकाले जेष्ठ नागरिकका लागि निःशुल्क मोतियाविन्दुको शल्यक्रिया गर्ने व्यवस्था गरेको जानकारी दिँदै उनले कान नसुन्ने जेष्ठ नागरिकका लागि आवश्यक मेसिनको प्रबन्ध गर्ने तयारी गरेको पनि बताए ।
यस्तै उपप्रमुख रामदेवी तामाङले जेष्ठ नागरिकलाई आफूले सुविधामार्फत पाउने रकमबाट सानै भए पनि सहयोग गर्न पाउँदा खुशी व्यक्त गरिन् । धर्मका लागि मन्दिर धाउन नपर्ने भन्दै उनले जेष्ठ नागरिकको सेवा र सम्मान गर्दा नै पुण्य प्राप्त हुने बताइन् ।
कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेलले जेष्ठ नागरिकको साथमा राज्य छ भन्ने अनुभूति दिलाउन सहयोग गरेको बताए । उनले सामाजिक सुरक्षा भत्ता वितरणलाई व्यवस्थित गर्दै बैंकिङ प्रणालीमार्फत वितरण भइरहेको, बैंकसम्म जान नसक्ने जेष्ठ नागरिकका लागि आगामी दिनमा घरमै पुगेर भत्ता वितरण गर्ने व्यवस्था मिलाउने बताए । जेष्ठ नागरिकका लागि चौतारो निर्माण लगायतका कार्य पनि नगरपालिकाले गरेको उनले बताए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















