१४ पौष २०७७
महाभारत । काभ्रे जिल्लाको विकट क्षेत्रका सुत्केरी महिलाको पहिलो पटक निशुल्क हवाइ उद्धार गरिएका छन् । महाभारत गाउँपालिका–८ स्थित् घर्तिछापकी वर्ष २८ की लोकमाया दर्लामीको सुत्केरी भइ बच्चा जन्मे पनि प्लासेन्ट (साल) ननिस्की उच्चा रक्तस्राप भइ बेहोस भएकी उनको निःशुल्क हवाइ उद्धार गरिएका हुन् ।
महाभारत गाउँपालिकका अध्यक्ष कान्छालाल जिम्बाले महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले उद्धारसम्बन्धी कार्यविधि, २०७७ लागु भएसँगै आपतकालीन अवस्थामा राष्ट्रपति महिला उत्थान कार्यक्रमबाट दर्लामीको निशुल्क हवाई उद्धार गरिएको डाँडापारि सन्देशलाई जानकारी दिए । उनका अुनसार उद्धारसम्बन्धी कार्यविधि, २०७७ लागु भएपछि आपतकालीन अवस्थामा राष्ट्रपति महिला उत्थान कार्यक्रमबाट गाउँपालिकाका सुत्केरी महिलाको निशुल्क हवाई उद्धार भएको यो पहिलो पटक हो । गत असोजदेखि जिल्लाका महाभारत र चौरीदेउराली गरी दुई गाउँपालिकामा उद्धारसम्बन्धी कार्यविधि, ०७७ लागु भएको थियो ।
त्यस्तै, अध्यक्ष जिम्बाले सुत्केरी महिलाको निशुल्क उद्धार भएसँगै कार्यविधि लागु भएपनि कार्यन्वयन हुन्छ कि हुँदैन भन्ने जनतामा रहेको दुविधासमेत हटेको बताए । ‘यसअघि सुत्केरी महिलाको हेलिकप्टरमार्फत् उद्धार गर्दा १ लाख बढी खर्च लाग्ने गथ्र्योे,’ उनले भने, ‘तर उद्धारसम्बन्धी कार्यविधि, ०७७ लागु भएसँगै गाउँपालिकाभित्रका महिलाहरुलाई सजिलो हुनुको साथै आर्थिक हिसाबले समेत धेरै सहज भएको छ ।’
गाउँपालिका अध्यक्ष जिम्बाले अब गाउँपालिकाका कुनै पनि प्रसव पीडामा परेका महिलाले आवश्यक उपचारबाट बञ्चित हुनुपर्ने दुःखदयी अवस्थाको अन्त्य भएको बताए । साथै उनले राष्ट्रपति महिला उत्थान कार्यक्रम लगायत उद्धारमा पहलकदामी गर्ने सम्पुर्णलाई धन्यवाद समेत व्यक्त गरे ।
गर्भवती बेहोस भएका कारण स्वास्थ्य अवस्थ गम्भीर भएकाले थप उपचारको लािग राष्ट्रपति महिला उत्थान कार्यक्रममार्फत दर्लामीको उद्धार गरिएको काभ्रेका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले भनाइ छ ।
सुत्केरी महिलामा उच्च रक्तचापका कारण बेहोस हुने गरेको घर्तिछाप स्वास्थ्य चौकीको इन्चार्ज गोकुल दर्लामीले जानकारी दिए । सुत्केरी महिलाले स्वास्थ्य चौकीमा गर्भवतीले लिनुपर्ने सबै सेवा लिएको उनले बताए ।
थप उपचारको लागि दर्लामीलाई प्रसुति गृह, थापाथालीमा पु¥याएका छन् भने उनको श्रीमान रुकेन्द्र आलेले महिलाको स्वास्थ्य अवस्था ठिक भएको जानकारी दिए । त्यस्तै, उनले गाउँपालिका अध्यक्ष जिम्बा लगायतको सक्रिय पहलको कारण आफ्नो श्रीमती मृत्युबाट बच्न सफल भएको बताउँदै अध्यक्षसहित उद्धारमा सहयोग गर्ने सम्पुर्णलाई धन्यावादसमेत दिए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।