१४ पौष २०७७
बनेपा । नेकपा काभ्रेका अध्यक्ष र सचिवलाई ओली पक्षले आधा दर्जन आरोप लगाएको छ । नेकपा ओली पक्षको काभ्रे जिल्ला कमिटीको आज बसेको बैठकले ती आरोपहरु लगाएको हो ।
ती आरोपहरु लगाउँदै आज बसेको नेकपा (ओली पक्ष) काभ्रेको दोस्रो बैठकले जिल्ला अध्यक्ष रुकु चौंलगाईं र सचिव टोकबहादुर वाईबालाई पदमुक्त गरेको नवनियुक्त अध्यक्ष अशोक व्याञ्जुले तेमाल अनलाईनलाई जानकारी दिएकाछन् ।
जिल्ला तहमा पार्टी एकता भएको करिब अढाई वर्षको अवधिसम्म जिल्ला कमिटिको एउटा पनि बैठक र कुनै पनि कार्यक्रम हुन नसकेकोले असक्षमताको आरोपमा अध्यक्ष र सचिवलाई पदमुक्त गरिएको उनले जानकारी दिए ।
बैठकले जिल्ला अध्यक्ष र सचिवको असक्षमताको कारण पार्टीको समग्र कमिटी प्रणाली र पार्टी जीवन नै अवरुद्ध हुन पुगेको, गुटगत गतिविधि गर्ने, विभिन्न पार्टी परित्याग गरि नेकपामा प्रवेश गर्ने, निर्धारित कार्यक्रमहरु अवरुद्ध गरि विरोधी पार्टीलाई वल पु¥याउने, फूटपरस्त गतिविधिमा सामेल हुने र गुटगत भेला आयोजना गरि पार्टी एकतालाई भाँड्ने लगायतका आरोप लगाएका छ ।
‘संगठनात्मक पद्धती विरोधी गतिविधिमा संलग्न भएका कारण जिल्ला कमिटि अध्यक्ष रुकु चौंलागाईं र सचिव टोकबहादुर वाईबालाई अध्यक्ष र सचिव पदबाट पदमुक्त गर्ने निर्णय बैठकले गरेको छ ।’ व्याञ्जुले तेमाल अनलाइनलाई बताए ।
यसैबीच बैठकले जिल्ला कमिटिको अध्यक्षमा अशोक व्याञ्जु र सचिवमा नारायण पाण्डेलाई चयन गरेको छ । दुवैजना ओलीपक्षको केन्द्रिय महाधिवेशन आयोजक समिति सदस्य हुन् ।
बैठकले प्रतिनिधि सभा विघटन गरि प्रतिनिधि सभाको निर्वाचनको मिति घोषणा गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णयलाई स्वागत गर्दै सम्पूर्ण पार्टी पंक्तिलाई निर्वाचनमा केन्द्रीत हुन आव्हान गरेको व्याञ्जुले जानकारी दिए ।
यता ओली पक्षले पदमुक्त गरिएको भनिएका नेकपा जिल्ला अध्यक्ष रुकु चौंलागाईंले अध्यक्ष र सचिव विनाको बैठकले गरेको निर्णय कहिल्यै पनि आधिकारीक नभएको बताइन् । ओलीको कदम घोर प्रतिगमनकारी भएकोले ओली गुटका केही मान्छेहरुले छरेको भ्रममा नलाग्न काभ्रेका पार्टी पंक्ति र आम जनतामा आव्हान समेत गरिन् । ‘ओलीको प्रतिगमनकारी कदमको पक्षमा काभ्रे नेकपा छैन । सिंगो काभ्रे यो कदमको विरुद्धमा छ ।’ अध्यक्ष चौंलागाईंले भनिन्, ‘पार्टी पंक्ति र आम जनतामा भ्रम सिर्जना गर्न ओलीका केही मान्छेहरु उद्धत देखिन्छ, त्यसैले ओलीद्वारा परिचालित केही व्यक्तिले फैलाएको भ्रममा नपर्न म अनुरोध गर्न चाहन्छु ।’
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















