१५ पौष २०७७
धुलिखेल । काभ्रे जिल्लाको धुलिखेल नगरपालिकाका मेयर अशोक ब्याञ्जुले राष्ट्रिय विभूति बलभद्र कुँवरको शालिक सहितको पार्क उद्घाटन गरेका छन् । धुलिखेल नगरपालिकाले वडा नम्वर ९ देविस्थानमा निर्माण भएको शालिक र पार्कको मेयर व्याञ्जुले आज एक कार्यक्रमका बीच उद्घाटन गरेका हुन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै व्याञ्जुले काभ्रे जिल्लाको साविक भमरकोटमा बलभद्र कुँवरको जन्म भएको र नगरपालिकाले उनको योगदानको स्मरण गरेको बताए । ‘काभ्रेपलाञ्चोक जिल्ला अर्थात नेपालको इतिहास राख्न सफल नेपालका राष्ट्रिय विभूति बलभद्र कुँवरको शालिक निर्माण गरी राष्ट्र निर्माणमा उहाँले पु¥याएको योगदानको स्मरण गरेका हौं ।’ मेयर ब्याञ्जुले भने, ‘नगरपालिकाको आर्थिक सहयोग, नेपाली सेना विष्णु दल गण र स्थानीय उपभोक्ता समितिको तर्फबाट जनश्रमदान गरी पार्क सहितको शालिक निर्माण गरेका हौं । यसले देश निर्माणमा योगदान पु¥याउने ब्यक्तिहरुको योगदानको कदर गरेको छ ।’
धुलिखेल नगरपालिकाले पर्यटकिय नगरका रुपमा विकास गर्न पाँच वर्षमा ६५ वटा पार्क निर्माण गर्ने लक्ष्य सहित ३६ वटा पार्क निर्माण सम्पन्न गरिसकेको उनले जानकारी दिए । ‘सामाजिक रुपान्तरण र एकता कायम गर्न धार्मिक, सांस्कृतिक र ऐतिहासिक क्षेत्रको मात्रै नभई ब्यक्तिहरुको पनि स्मरणका लागि शालिकहरु निर्माण गरिएको छ ।’ उनले भने, ‘पूर्खाहरुले साहित्य, कला, संगित, बीरता प्राप्त गरी मुलुक निर्माणमा पु¥याएको योगदानको स्मरण गरिने छ ।’
सोहि स्थानमा निर्माण भएको शालिक सहितको पार्कले आन्तरिक तथा बाह्य पर्यटकहरुलाई आर्कषण गरेको छ । देविस्थानमा पृथ्वीनारायण शाहको शालिक सहितको पार्क निर्माण भईरहेको छ । काभ्रेपलाञ्चोक जिल्लाको साविक भमरकोटमा बलभद्र कुँवरको जन्म भएको ईतिहासमा उल्लेख छ ।
२० लाख रुपैया नगरपालिकाले विनियोजन गरेको पार्कमा उपभोक्ता र नेपाली सेना विष्णु दल गणको जनश्रमदान रहेको उपभोक्ता समितिका अध्यक्ष गोकर्ण चौलागाईले जानकारी दिए ।
शालिक अनावरण तथा पार्क उद्घाटन कार्यक्रममा जिल्ला समन्वय समिति काभ्रेका प्रमुख उद्धव केसी, धुलिखेल नगरपालिका उपप्रमुख विमला शर्मा, प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेल, नगरपालिका प्रमुख प्रशासकिय अधिकृत पुरुषोतम सुवेदी, वडा अध्यक्ष निराजन जंगम लगायतका सहभागी रहेका थिए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।