१६ पौष २०७७
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले प्रधानमन्त्री ओलीले महाकाली सन्धि गरेर राष्ट्रघात गरेकाले आफूले पहिला ओलीलाई राष्ट्रवादी नेता नमानेको बताएका छन् । नेकपा (ओली समूह)को सुदूरपश्चिम प्रदेशद्वारा आयोजित भेलालाई बुधबार सम्बोधन गर्दै भट्टले उक्त कुरा बताएका हुन् ।
अहिले भने नक्सा प्रकाशनको अगुवाइ गरेकाले राष्ट्रवादी नेताका रूपमा आलीलाई समर्थन गरेको प्रस्ट्याए । ‘केपी ओलीले पहिला महाकाली सन्धि गरेर राष्ट्रघाती काम गर्नुभो, त्यसैले उहाँलाई राष्ट्रवादी मान्दैनथेँ, तर आज उहाँले लिम्पियाधुरासम्म नेपालको नक्सा ल्याउने कसैले नगरेको आँट गर्नुभो,’ भट्टले भने, ‘यस्तो आँट एकपटक प्रधानमन्त्री हुँदा झलनाथ खनाल र माधवकुमार नेपाल र दुईपटक प्रधानमन्त्री हुँदा प्रचण्डले किन गर्नुभएन ?’
भट्टले प्रचण्डका कारण अहिले देशमा राजनीतिक अस्थिरता उत्पन्न भएको आरोप लगाए । ‘प्रचण्डले क्रमभंग, धक्का, महाविपत्ति, छलाङ भन्ने गर्नुहुन्थ्यो, अलिकति सोझ्याएर उहाँले अहिले सडकमा विपत्ति ल्याउनुभएको छ, देशमा राजनीतिक अस्थिरता उत्पन्न भएको छ,’ भट्टले भने ।
उनले लामो समयदेखि घाइते, बेपत्ता र सहिद परिवार नसम्झने प्रचण्डले अहिले सम्झिएर पूर्वमाओवादी एक ठाउँमा आउनुपर्ने कुरा गर्न थालेकाले त्यसले पूर्वएमाले पनि एक ठाउँमा आउने अवस्था बन्न सक्ने बताए । ‘उहाँले पूर्वमाओवादी एक ठाउँमा हुनुपर्छ भनेको हो भने पूर्वएमालेलाई पनि एक होस् भनिरहनुभएको छ, त्यसैले माधव नेपाललाई यतातिर (केपी समूह)मा पठाउनुप¥यो,’ भट्टले भने । यो समाचार आजको नयाँपत्रिका दैनिकमा छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















