१७ पौष २०७७
धुलिखेल । नेकपा (ओली समूह)का केन्द्रिय सदस्य तथा काभ्रे जिल्ला इन्चार्ज गोकुल प्रसाद बाँस्कोटाले नेकपा (प्रचण्ड–नेपाल) समूह विरुद्ध लाग्न आफू निकटका पत्रकारहरुलाई निर्देशन दिएका छन् । विहिबार धुलिखेलमा बोलाएको प्रेस चौतारी सम्बद्ध पत्रकारहरुलाई बाँस्कोटाले यस्तो निर्देशन दिएका हुन् ।
‘अब उनीहरुको विरुद्ध जहाँ जे भेट्छ लेख्नुहोला, जनताको अगाडि नांगेझार बनाउनुपर्छ ।’ बाँस्कोटाले निर्देशन दिंदै भने, ‘यो मोर्चामा को के भन्ने कुरा प्रष्ट हुन्छ, मिडिया मार्फत हाम्रो पार्टी र सरकारको बचाउ गर्ने, उनीहरुको तेजोबोध गर्ने अहिलेको मिसन हो । अगाडि बढ्नुहोला ।’
औपचारीक भेलामा यस्तो निर्देशन दिएपनि यस अघि बाँस्कोटाले फोन र अनौपचारीक भेटमा प्रचण्ड–नेपाल समूहका नेता तथा कार्यकर्ताहरुको राजनीतिक र व्यक्तिगत रुपमा चरित्र हत्या गर्नेसम्मको समाचार लेख्न आफू निकटका पत्रकारहरुलाई निर्देशन नै जारी गरेको बुझिएको छ । सोही अनुसार प्रचण्ड–नेपाल पक्षका जिल्ला सदस्य अशोक गौतम र दिवंगत जिल्ला सदस्य उज्ज्वल लामालाई जोडेर समाचार प्रकाशन गरेर काभ्रेबाट प्रकाशित एक साप्ताहिक पत्रिकाले यसको शुरुवात गरि नै सकेको छ ।
प्रेस संगठन, काभ्रेको भेला भनेर बोलाएको उक्त भेलामा पूर्व प्रेस चौतारी निटकका मात्र पत्रकार देखेपछि पूर्व प्रेस सेन्टर निकटलाई किन नबोलाएको भनी केही पत्रकारहरुले प्रश्न गरेका थिए । ‘आउनेलाई ढोका खुल्ला छ, उनीहरु उतै लागेकोले नबोलाएको हो ।’ पूर्व मन्त्री समेत रहेका बाँस्कोटाले जवाफ दिएका थिए ।
भेला गुनासो सुनाउने प्रक्रियाबाट शुरु भएको थियो । धेरैजसो पत्रकारले बाँस्कोटाको सांसद भएदेखि मन्त्री भएसम्मको कार्यशैली प्रति असन्तुष्टि जनाएका थिए । अवसर दिंदा आफूलाई मनपर्ने र आफूसँगै हिंड्नेलाई मात्र दिएको गुनासो पत्रकारहरुले गरेका थिए । ‘कोही साथीहरुले एकैपटक धेरै अवसर पाए । कोहीले जति प्रयत्न गरे पनि पाएनन् ।’ एकपत्रकारले भने, ‘यो किन भयो ? कोहीलाई डब्बल तेब्बर अवसर, कोहीको कुरै सुन्नु भएन । अव यसरी हुँदैन ।’
पत्रकारहरुको गुनासो सुनेपछि बाँस्कोटाले पछिल्लो राजनीतिक घट्नाक्रम, पार्टी भित्र पैदा भएको समस्या र ओली समूहको बचाउ गर्दै कुरा राखेका थिए । त्यसपछि उनले पत्रकारहरुको गुनासो एकएक गरि समाधान गर्ने प्रतिबद्धता जाहेर गरेका थिए ।

Comments

comments