१७ पौष २०७७
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली पक्षका शीर्ष नेताले ओलीको कार्यशैली प्रति गुनसो गर्न थालेका छन् । ओलीले संसद विघटन गर्दा आफूहरुलाई संसद बिघटन गर्नुअघि छलफल नगरेको उनीहरुले गुनासो गरेका हुन्।
पुष ५ गतेको मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्री ओलीले एक्कासी संसद विघटनको प्रस्ताव ल्याएका थिए । प्रधानमन्त्रीको सो प्रस्तावमा ओलीनिकट मन्त्री प्रदीप ज्ञवालीले मन्त्रिपरिषद बैठकमै प्रश्न उठाएका थिए । प्रधानमन्त्रीको कदमको संवैधानिक र राजनीतिक औचित्य पुष्टि हुन नसक्ने भन्दै संसद विघटन निर्णय नलिन उनले सुझाएका थिए ।
मन्त्रिपरिषदमा विमति जनाए पनि मन्त्री ज्ञवलीले ओलीको कदमको प्रतिवाद बाहिर आएर गरेनन् । उनलाई ओलीले पार्टी प्रवक्तामा नियुक्त गरेका छन् । ओलीले आफूनिकट शीर्ष नेताहरू, संविधानसभाका पूर्वअध्यक्ष र नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ, महासचिव विष्णु पौडेल, मूख्यमन्त्री शंकर पोखरेल समेतलाई संसद विघटनबारे कुनै जानकारी नदिएको कतिपयले दावी गरेका छन्।
एक नेताले भने, नेम्वाङले त आफूनिकट नेताहरूसँग प्रधानमन्त्रीको कदमबारे गुनासो नै गर्न थालेका छन् । उहाँ पार्टी एकता होस् भनेर अन्तिमसम्म पनि प्रयास गर्नुभएको थियो । दुवै अध्यक्षका बीचमा संवाद गराउने प्रयास गरिरहनु भएको थियो । उहाँ संसद विघटन गर्ने प्रधानमन्त्रीको निर्णयबारे बेखबर हुनुहुन्थ्यो ।’
बिहीबार आफ्नो कार्यकक्ष सिंहदरबारमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेम्बाङले प्रधानमन्त्रीको कदममा असन्तुष्टी जनाउदै अदालतमा प्रवेश गरेको विषयमा जवाफ नदिने बताएका थिए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।