२० पुष २०७७, सोमबार
काठमाडौं। नेकपाको प्रचण्ड(नेपाल पक्षका स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेले नेकपाको ओली समूहका नयाँ केन्द्रीय सदस्यहरुलाई म्यादी प्रहरी जस्तै भएको बताएका छन्।
सोमबार अखिल नेपाल ट्रेड युनियन महासंघको काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै नेता पाण्डेले १२ सय सदस्यीय पार्टी कमिटीको बैठक कसरी बस्ने भन्दै म्यादी प्रहरी जस्तै केन्द्रीय सदस्य भर्ती गरेको बताएका हुन्। नेता पाण्डेले मान्छे तान्नलाई ओलीले चतूरतापूर्वक ठूलो केन्द्रीय कमिटी बनाएको बताए।
ओलीले संसद विघटन गरेर देशलाई अँध्यारो सुरुङमा धकेलेको बताए। उनले जनता हरेक चीजको न्यायाधीश भन्दै जनताले नै आफूहरुलाई न्याय दिने बताए।
ओलीले पार्टी र सरकार दुवैतिर एकलौटी गर्दा पार्टी विभाजनसम्म गएको भन्दै नेता पाण्डेले सरकारलाई काम गर्न नदिएको होइन, काम गर्न नसकेको बताए। ओलीले प्रधानमन्त्री बाहेक केही पनि नदेखेकोले अहिलेको समस्या आएको उनले बताए।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















