२४ पौष २०७७
धुलिखेल । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) काभ्रे जिल्लाले प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको कदमको निम्ति पश्चातापका साथ राष्ट्रका सामु क्षमायाचना गर्न अनुरोध गरेको छ । आज नेकपा काभ्रेले प्रमुख जिल्ला अधिकारी शिवारम पोखरेल मार्फत प्रधानमन्त्री ओलीलाई ज्ञापन पत्र र एकथान संविधान बुझाउँदै उक्त अनुरोध गरेका हुन् ।
ज्ञापन पत्रमा गत पौष ५ गते प्रम ओलीले नेपालको संविधानको ठाडो उल्लंघन गरि असंवैधानिक, अलोकतान्त्रिक एवम् स्वेच्छाचारी ढंगले संसद विघटन गर्ने प्रतिगामी कदम चालेकोमा तत्र्सना समेत गरेको छ ।
‘तपाईंको २०७७ पौष ५ गते नेपालको संविधानको ठाडो उल्लंघन गरि असंवैधानिक अलोकतान्त्रिक एवम् स्वेच्छाचारी ढंगबाट प्रतिनिधि सभा विघटन गर्ने प्रतिगामी कदम चाल्नु भएकाले हामी त्यसप्रति तीब्र आपत्ति प्रकट गर्दै घोर विरोध एवम् भत्र्सना गर्दछौं ।’ प्रधानमन्त्री ओलिलाई सम्बोधन गरेर लेखेको ज्ञापन पत्रमा भनिएको छ ।

प्रतिगामी कदम नसच्चिए जस्तोसुकै संघर्ष गर्न नेपाली जनता सक्षम रहेको समेत ज्ञापनपत्र मार्फत चेतावनी दिएको छ । ‘हामी ठूलो बलिदानीपूर्ण संघर्षबाट प्राप्त गरिएको ऐतिहासिक राजनैतिक परिवर्तन, संघीय लोकतान्त्रिक गणतन्त्र तथा नेपालको संविधानको रक्षा गर्न, वर्तमान असंवैधानिक कदम तथा सबै प्रकारको प्रतिगामी षड्यन्त्रलाई असफल पार्न र तयसको लागि जस्तोसुकै संघर्ष गर्न नेपाली जनता सक्षम छौं भन्ने चेतावनी दिन चाहन्छौं ।’ ज्ञापनपत्रमा भनिएको छ, ‘तपाईंलाई राम्ररी थाहा छ संविधानले प्रधानमन्त्रीलाई प्रतिनिधि सभालाई विघटन गर्ने कुनै अकिार दिएको छैन । तथापि संविधानको सम्बन्धित धाराको पुनः अध्ययन गर्नुहोस् सो धाराको प्रति समेत यसै साथ पठाएका छौं । हामी अझै पनि तपाईंलाई आफ्नो असंवैधानिक कदमका निम्ति पश्चातापका साथ राष्ट्रका सामु क्षमायाचना गर्न र प्रतिनिधि सभा सूचारु गरी संविधानलाई क्रियाशिल बनाउने पक्षमा आउने अनुरोध गर्दछौं र सच्चिन अवसर प्रदान गर्दछौं ।’
ज्ञापन पत्र बुझाउन नेकपा वागमती प्रदेश सचिवालय सदस्य सूर्यमान दोङ, प्रतिनिधि सभा सदस्य सांसद गंगाबहादुर तामाङ, प्रदेश सांसदहरु रत्न ढकाल, लक्ष्मण लम्साल, बसुन्धारा हुमागाईं, पार्टी जिल्ला अध्यक्ष रुकु चौंलागाईं, जिल्ला सचिव टोकबादुर वाइबा लगायतका नेता कार्यकर्ताहरु पुगेको थिए ।

‘ओलिको कदम नसच्चिएसम्म संघर्ष जारी रहने छ’ –अनेरास्ववियू, काभ्रे
यसैबीच आजै अनेरास्ववियू काभ्रेले पनि प्रमुख जिल्ला अधिकारी पोखरेल मार्फत ज्ञापनपत्र बुझाउँदै संसद विघटनको कदम सच्च्याउन अनुरोध गरेको छ । उक्त कदम नसच्चिए संघर्ष जारी राख्ने विद्यार्थीहरुले चेतावनी दिएको छ ।

यस्तो छ विद्यार्थीको ज्ञापन पत्र
हजारौं हजार सहिदहरुको बलिदानको प्राप्त गणतन्त्र, संघियात, धर्म निरपेक्षता, समानुपातिक र समावेशीतालाई सुदृढ गर्दै जनतालाई समाजवादको दिशामा लैजाने महान अभिभाराबाट केपि वलि र उनको नेतृत्वको सरकार पन्छदै दलाल नोकरशाहहरुको चंगुलमा फसेको र राष्ट्रिय अन्तरास्ट्रिय मन्चमा सरकारलाई बदनाम गरेको आम जनतामा अबगत नै छ।वर्तमान केपि वलि सरकारले संविधानमाथी हमला गर्दै लोकतन्त्रको सबै मान्यतालाई क्षत विक्षत बनाएको छ।आफैले प्रतिनिधिसभा विघटनको घोषण गराउने काम गरिसकेपछी सरकार स्वतस् काम चलाउ हुने संवैधानिक एवम् लोकतान्त्रिक मान्यताका विरुद्ध नियमित सरकार झै मन्त्रीपरिषद पुनर्गठन लगाएतका जथाभावी निर्णयहरु गरिरहेको छ ।
संवैधानिक परिषदको समेत भएर पनि अध्यादेश कायम राख्ने र संवैधानिक परिषद सम्बन्धि अध्यादेश फिर्ता लिने निर्णयमा सामेल भएर पनि अध्यादेश कायमै राख्ने र संवैधानिक परिषदको बैठक बसेको पछिल्लो मितिमा कुनै निर्णय भएको रेकर्डड अभिव्यक्ति दिएर पनि त्यही बैठकबाट विभिन्न नियुक्तिको सिफारिस गरेको लज्जास्पद गतिविधि समेत देखिएको छ।संविधान र लोकतान्त्रको न्युनतम मान्यता र मर्मको विरुद्धमा यश प्रकारको गतिविधिहरुको तीब्र भत्सर्ना गर्दछौ ।
अनेरास्ववियू आफैंले लडेर ल्याएको संघिय लोकतान्त्रिक गणतन्त्रको राक्षार्थ संघर्षको मैदानमा दृढतापुर्वक अघि बढिरहेको छ।यसै विचमा संविधानले प्रत्याभूत गरेको शान्तिपुर्ण प्रदर्शन र अभिव्यक्ति स्वतन्त्रताको हकलाइ कुल्चदै प्रदर्शनकारीलाई धम्क्याउने, तर्साउने र धरपकड गर्ने कायरतापुर्ण नगर्ने चेतावनी दिन चाहन्छौं । यदि नागरिकको वाक स्वतन्त्रता र मौलिक हकलाइ सत्ताको वुटले कुल्चने धृष्टता गरेमा त्यसको सशक्त प्रतिरोध गर्न वाध्य हुनेछौं । हामी पुन स्पष्ट रुपमा जोड दिन चाहन्छौं, असंवैधानिक कदमलाई पुर्ण रुपमा असफल पारेर प्रतिनिधि सभा सुचारू नगर्दासम्म र प्रतिगमनको खतरालाइ निस्तेज नपार्दासम्म हाम्रो सघर्ष जारी रहनेछ ।
क्रान्तिकारी अभिवादन सहित
युवराज लामा
सह–संयोजक, अनेरास्ववियू, काभ्रे

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।





















