२५ पौष २०७७
काभ्रे । वागमती प्रदेश सभा सदस्य सांसद बसुन्धारा हुमागाईंले पूर्व मन्त्री गोकुल बाँस्कोटालाई मैदानबाटै जवाफ दिने बताएका छन् । नेकपा ओली समूहको काभ्रे जिल्लाको विस्तारीत बैठकलाई सम्बोधन गर्दै बाँस्कोटाले सांसद हुमागाईंलाई ईंगित गर्दै टिप्पणी गरेपछि सांसद हुमागाईंले सामाजिक सञ्जाल फेसबुक मार्फत यस्तो बताएका हुन् ।
विस्तारित बैठकमा बाँस्कोटाले हुमागाईंलाई सानोतिनो व्यापार गरेर बस्ने जनमोर्चा तिर लागेका मान्छे टिपेर पार्टीमा हुलेको बताउँदै प्रदेश मन्त्री खान लुसुक्क गएको टिप्पणी गरेका थिए । ओलि लाइनमा रहेका सांसद हुमागाईंले ओलीको संसद विघटन गर्ने कदमलाई असंवैधानिक भन्दै साथ छोडेपछि बाँसकोटाले पार्टीको विभिन्न कार्यक्रममा हुमागाईंको विरुद्ध बोल्दै आएका थिए ।
सामाजिक सञ्जालमा उनले प्रत्येक दिन आफू मैदानमै हुने र मैदानबाटै प्रत्येक प्रश्नको जवाफ दिने भनेर लेखेका छन् । उनले लेखेका छन्, ‘प्रत्येक दिन म मैदानमा हुन्छु, प्रत्येक प्रश्नको जवाफ मैदानमा दिन्छु, मलाई बिश्वास गर्नु हुने पार्टीका नेता, कार्यकर्ता, आम नागरिक, मतदाता, समर्थकमा अनुरोध गर्छु, मैदान छोडेर भाग्दिन ।’
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।





















