२६ पौष २०७७
बनेपा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओलि पक्षले १० औं जिल्ला अभिवेशनको नाममा काभ्रेमा ६९९ जनाको आयोजक समिति बनाएको छ । शनिबार खुल्ला चौरमा गरिएको विस्तारित बैठकले उक्त निर्णय गरेको घोषणा गरेको हो ।
यस अघि पूर्व माओवादी केन्द्रले गरेको अभ्यास ओलि पक्षले गरेकोले उनी निकट कार्यकर्ताहरु नै असन्तुष्टि देखेको छ । जिल्ला अधिवेशन आयोजक समिति भनिएपनि कार्यकर्ताको बुझाइ भने जिल्ला सदस्य नै हो भन्नेमा रहेको पनि पाइएको छ । पूर्व माओवादी केन्द्रले यस अघि ६ सय १ जनाको जिल्ला अधिवेशन आयोजक समिति बनाएको थियो ।
‘अहिले जो पनि जिल्ला सदस्य, जता फक्र्यो त्यतै जिल्ला सदस्य । जो भेटेनि जिल्ला सदस्य ।’ नाम नबताउने सर्तमा एकजना जिल्ला स्तरको नेताले भने, ‘पूर्व माओवादीले गरेको र असफल भएको अभ्यास अहिले हामीले गरिरहेका छौं । यसरी संगठन कसरी गतिशिल हुन्छ ?’
पार्टी फुटेपछि काभ्रेका अधिकंश नेताहरु प्रचण्ड नेपाल तिर गएपछि ओलि पक्षका नेता गोकुल बाँस्कोटाले जिल्ला भरिका अगुवा कार्यकर्ताहरुलाई फोन सम्पर्क गर्दै पद बाँडेको स्रोतले जनाएको छ । काभ्रेका जिल्ला अध्यक्ष रुकु चौंलागाईं, सचिव टोकबहादुर वाइबा, ३ जना प्रदेश सभा सदस्यहरु रत्न ढकाल, बसुन्धारा हुमागाईं, लक्ष्मण लम्साल, पुराना नेताहरु कृष्ण प्रसाद सापकोटा, विदुर सापकोटा लगायतका नेताहरु प्रचण्ड–नेपाल पक्षमा लागेपछि बाँस्कोटा आफै लागेका थिए ।
पार्टी नफुट्दा संगठन प्रति चासो नलिएका बाँस्कोटाले जे–जे पदको आश्वासन दिदा आफूति आउँछ त्यहीं–त्यही पद बाँडेका थिए । ‘विचार, सिद्धान्त, मुल्य मान्यता, राजनीति जेसुकै होस् कामरेड, कस्ले गरेको छ र विचार सिद्धान्तमा रहेर राजनीति ?’ बाँस्कोटाको भनाई उदृत गर्दै एकजना कार्यकर्ताले भने, ‘तपाईं जिल्ला सदस्य भयो अब, दाइले अरु के गर्नुप¥यो म तयार छु दायाँबाँया हुने होइन ।’
बाँड्दा बाँड्दा ६९९
जिल्ला भरिका कार्यकर्ताहरुलाई कोहीलाई वडा सदस्य, कोहीलाई वडा अध्यक्ष, कोहीलाई पालिका प्रमुख, उपप्रमुख बाँड्दा–बाँड्दा बाँकी रहेकालाई जिल्ला सदस्यको पद बाँड्दा ६ सय ९९ जनाको जिल्ला अधिवेशन आयोजक समिति बनाउनु परेको काभ्रेबाटै केन्द्रिय सदस्य भएका एक नेताले बताए । देशैभरि जिल्ला अधिवेशन आयोजक समिति कति जनाको बनाउने भन्नेमा एकरुपता देखिएको छैन । काभ्रे नै सबैभन्दा बढी संख्यामा जिल्ला अधिवेशन आयोजक समिति बनाएको ती नेताले बताए । ‘बाँडदा बाँड्दा ६ सय २९ जना पुग्यो, आश्वासन पाएकाहरु अझै बाँकी रहेछ ।’ उनले भने, ‘६ सय ९९ जनाको बनाउने प्रस्ताब गोकुल जीले गर्नुभयो । अब अझै ७० जना बाँकी छ ।’ यस अघि ३ सय जनाको बनाउने छलफल भएको पनि उनले बताए ।
असन्तुष्टि बढ्यो
‘जो पायो त्यसैलाई’ पार्टीमा टिकाई राख्ने नाममा यसरी धेरै संख्या जिल्ला सदस्यहरु बनाउन थालेपछि कार्यकर्ता पंक्तिमा असन्तुष्टि बढेको छ । ‘विधि, विधानमा न यत्रो संख्यामा जिल्ला समिति बनाउने भन्ने व्यवस्था देखिदैन, कार्यकर्तालाई टिकाउनेको नाममा भद्दा खालको संगठन बनाउनु त भएननी ।’ उनले भने, ‘अब वडा, गाउँ कमिटि, नगर कमिटी, प्रारम्भिक कमिटिमा बस्ने मान्छे नै भेटिदैन । सबै जिल्ला सदस्य भए के गर्नु त ?’
युवाहरुलाई पनि आश्वासन
राष्ट्रिय युवा संघमा संगठीत भएका र नभएका युवाहरुलाई बाँस्कोटाले आफूहरुसँग सरकार भएको र जे सहयोग गर्न पनि तयार रहेको आश्वासन दिएका छन् । ‘हामीसँग पैसा छ, पावर छ, अरु के चाहियो ?’ युवाहरुको भेलामा बाँस्कोटाले भनेका थिए, ‘कसलाई के भन्दा हामी तिर आउँछ त्यही भन्नु होला, म छु नि ।’
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।