२६ पौष २०७७
बनेपा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रिय सदस्य तथा काभ्रे जिल्ला इन्चार्ज गोकुल बाँस्कोटाले संघीता नेपाली जनतालाई भारी भएको तर्क गरेका छन् । शनिबार ओलि पक्षको जिल्ला विस्तारित बैठकलाई सम्बोधन गर्दै पूर्व मन्त्री समेत रहेका बाँस्कोटाले उक्त तर्क गरेका हुन् ।
संघीयताको सम्बन्धमा प्रधानमन्त्री केपी शर्मा ओलीले नकारात्मक टिप्पणी गर्न थाले पछि बाँस्कोटाले संघीयताको विरुद्धमा जुनसुकै कार्यक्रममा नकारात्मक टिप्पणी गर्दै आएका छन् । यो मुलुक बहुभाषिक, बहुजातिय, बहुधार्मिक भएकोले समावेशीता ठीक भएको तर संघीयता भने लगत भएको उनले बताए ।
‘संघीयता नेपाली जनताले भारी बोक्नुपरेको हो । स्वीकार गर्नु परेको होइन, थिएन ।’ यद्यपी यो पार्टीको धाराणा नभएपनि आफ्नो धाराना रहेको बताउँदै उनले भने, ‘लु यो पत्रकार साथीहरुको लागि मसला नै भयो आजको समाचारको लागि ।’
कार्यक्रमलाई सम्बोधन गर्दै बाँस्कोटाले माधव नेपाल परिवर्तन, विकास नचाहने, पदको आकाँक्षी मात्रै भएको दावी गरे । उनले माधव नेपालको पछि लागेर नेतृत्वको विकास हुन्छ भन्नु भ्रम रहेको बताए ।
काभ्रेमा काठमाडौँ विश्वविद्यालय, राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय, मदनभण्डारी विश्वविद्यालय र पनौतीमा पोलिटेक्निकल विश्वविद्यालय हुने बाँस्कोटाले बताए । उनले मदनभणडरी विश्वविद्यालयको डिपिआरको काम र पनौतीको पोलिटेक्निकल विश्वविद्यालय केही समयमा घोषणा हुने बताए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।