२७ पौष २०७७
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीको केपी शर्मा ओली पक्षले कार्यकर्ता फकाउन पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल पक्षलाई विभिन्न ७ आरोप लगाएका छन् । अन्तर पार्टी निर्देशन जारी गर्दै ओलिले नयाँ अभियान समेत चलाउन निर्देशन जारी गरेको छ ।
ओलीले पुस २२ गते जारी गरेको अन्तर पार्टी निर्देशनमा सरकारलाई कामै गर्न नदिएको, पार्टीमा गुटबन्दी गरेर अप्ठ्यारो पारेको र पार्टी विभाजन गर्न अनेक प्रपञ्च गरेको उल्लेख गरेका छन् ।
१. सरकारको विरोधः
ओलीले प्रचण्ड–नेपालले प्रतिपक्षलाई समेत उछिनेर सरकारको विरोधमा उत्रिएको बताएका छन्। प्रचण्ड नेपाललाई कहिले मुलक बाहिर गएर सरकार लामो समय जाँदैन भन्ने सन्देश दिने कहिले संसदमा देश डुब्न लाग्यो भनेको र कहिले अन्य ढंगले विरोध गरेर अस्थिर बनाउने गतिविधिहरुमा सक्रिय भएको बताएका छन् । उनले भनेका छन्, ‘प्रचण्ड–नेपाल पक्षको काँधमा आएको ऐतिहासिक अभिभारालाई बहन गर्नेगरी पार्टीलाई सामाजिक आर्थिक रुपान्तरणको संवाहक बनाउन छाडेर पार्टी संयन्त्रलाई नै सरकारको विरोधमा दुरुपयोग गर्ने दुस्ष्प्रयास गरे ।’
२. घेराबन्दी
मंसिर ४, ०७६ मा दुई अध्यक्षको कार्यविभाजनपछि कार्यकारी अध्यक्ष प्रचण्डले अन्तरविरोधको सकारात्मक समाधान खोज्ने, असन्तुष्टिको सम्बोधन गर्ने, पार्टीलाई एकतालाई सुदृढ गर्नेभन्दा केन्द्रीय सचिवालयमा आफ्नो गुटको स्थायी समिकरण निर्माण गरी प्रधानमन्त्री विरुद्ध घेराबन्दी गरेको ओलीले आरोप लगाएका छन् । कोर अफ लिडरसिप भनिने केन्द्रीय सचिवालयमा सदस्यहरुले आफ्नो स्वविवेक, स्वतन्त्र विचार र सिर्जनात्मक छलफल बहसमा सहभागी हुने वातावरण नै नबनेको अन्तर पार्टी निर्देशनमा उल्लेख छ । सचिवालय खास ठाउँमा आयोजित गुटगत भेलामा गरिएका कथित निर्णयहरूलाई अनुमोदन गर्ने, अन्यथा अन्त्यहीन कचिंगल र विवादको थलो बन्न पुगेको बताइएको छ ।
३. क्षमतावान मन्त्री हटाउन दबाबः
यसअघि मन्त्रिपरिषद पुनर्गठन हुँदा प्रचण्डले प्रधानमन्त्रीलाई अप्ठ्यारो पार्ने मनसाय प्रस्तुत गरेको बताइएको छ। प्रचण्डको मनशाय पुनर्गठनको बहानामा मन्त्रिपरिषद्का वरिष्ठ र क्षमतावानहरूलाई हटाउने, पार्टीएकताका लागि भूमिका खेलेकाहरूलाई मन्त्री परिषदमा सामेल नगर्ने, पञ्छाउने र प्रधानमन्त्रीलाई अप्ठ्यारोमा पार्ने देखिएको अपानिमा उल्लेख छ। भनिएको छ, ‘यहाँसम्म कि रिक्त मन्त्रालयमा पदपूर्ति गरेर अन्योल हटाउने विषयमा भएको सहमतिलाई पछि प्रचण्डले विरोध गरेको ओलीले दाबी गरेका छन् ।’
४. अभियोग पत्र पेशः
गत कात्तिक २८ गते सचिवालय बैठकमा प्रचण्डले अप्रत्यासित रुपमा विना कुनै पूर्व सूचना अभियोग पत्र पेश गरेको ओलीले बताएका छन्।अभियोग–पत्र भाषिक हिसाबले असाध्यै अमर्यादित, शैलीको हिसाबले अत्यन्त अशिष्ट र पूर्वाग्रही एवं विषय–बस्तुका हिसाबले विभाजनकारी, विध्वंसात्मक र पार्टीभित्रको मित्रवत् अन्तरविरोधलाई शत्रुतापूर्ण अन्तरविरोधमा बदल्ने खालको भएको उल्लेख गरेका छन्। अभियोग पत्र आफ्नो पार्टीअध्यक्ष विरुद्ध मात्रै होइन, पार्टी विधान मुलुकको संविधान र कानुन आकर्षित हुनेगरी फौजदारी प्रकृतिका आरोप लगाइएको बताएको छ। प्रचण्डले अभियोगपत्रलाई पार्टी केन्द्रीय कार्यालय र लोगोको दुरुपयोग गर्दै राष्ट्रव्यापी वितरण गरेर पार्टीमा विभाजनको आगो सल्काउने काम ओलीको आरोप छ।
५. मुख्य नेतृत्वको निन्दाः
बैठक बस्नै कठिन बसिहाले कतिपय नेताहरुको काम केबल सरकारको विरोध र मुख्य नेतृत्वको निन्दा गर्ने मात्रै काम भएको ओलीको आरोप छ। उनले भनेका छन्, ‘बैठकका लागि कार्यसूची निर्धारण, निर्णय प्रस्ताव तयारी निर्धारित समयमा बैठक सकाउने कार्यतालिका बन्दैन । कि बैठक बस्नै नसक्ने, बसेमा पनि अत्यन्त अव्यवस्थित, अमर्यादित र परिणामविहीन अवस्थामा पुगेपछि बैठकको समय त्यसै खेर गयो ।’
६. अविश्वास प्रस्तावः
प्रचण्ड नेपाल पक्षले अविश्वास प्रस्ताव ल्याएर आफूलाई हटाउन खोजेको बताएका छन् । पार्टीर संसदका संरचनाहरू आफ्ना निजि स्वार्थ केन्द्रीत महत्वाकांक्षाका लागि सहयोगी बन्ने संभावना नदेखेपछि अँध्यारो कोठामा बसेर फर्जी हस्ताक्षर सहितको अविश्वासको प्रस्ताव तयार गर्न र संसदमा दर्ता गर्न उद्धत भएको अन्तर पार्टी निर्देश्न्मा उल्लेख छ ।
७. तृत्त्व कब्जा गर्ने प्रयास:
सके पार्टी र सरकारको नेतृत्व कब्जा गर्ने, नभए पार्टी विभाजन गर्ने प्रचण्डको विभाजनकारी र विध्वंशकारी मनशाय वर्तमान अवस्था आउनुमा मुख्य जिम्मेवार रहेको आरोप लगाइएको छ । पार्टी नेतृत्व परिवर्तनका लागि ४ महिनापछि हुने महाधिवेशन कुर्न नसक्ने र प्रधानमन्त्री परिवर्तनका लागि अर्को जनादेश पर्खिन नसक्ने प्रचण्डको अन्तर्निहित अलोकतान्त्रिक चरित्रले यस्तो अवस्थाका लागि निर्णायक भूमिका खेलेको उल्लेख गरिएको छ । प्रचण्डले राजनीतिलाई पद, पैसा र परिवारको हितका रुपमा मात्रै बुझ्ने स्वार्थी चिन्तन देखिएको पनि अन्तर पार्टी निर्देशनमा छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।