२९ पौष २०७७
काभ्रे । वागमती प्रदेश सभा सदस्य रत्न ढकालले मदन भण्डारी फाउन्डेशनलाई ५० लाख रुपैयाँ दिने वागमती प्रदेश सरकारको निर्णय गलत भएको बताएका छन् । मंगलबार बसेको वागमती प्रदेश सरकारको मन्त्रीपरिषद् बैठकले फाउन्डेशनलाई उक्त रकम दिने निर्णय गरेको थियो ।
सामाजिक सञ्जाल फेसबुक मार्फत सांसद ढकालले उक्त निर्णयको विरोध गरेका हुन् । ढकालले राज्यको ढुकुटी दुरुपयोग गर्नु राम्रो नभएको भन्द्र निर्णय सच्याउन समेत माग गरेका छन् ।
‘वागमती प्रदेश सरकारको मदन भण्डारी फाउन्डेसनलाई ५० लाख दिने निर्णय गलत छ, राज्यको ढुकुटी दुरुपयोग गर्नु राम्रो होईन, निर्णय सच्याउँदा उत्तम हुन्छ ।’ उनले लेखेका छन् ।
मदन भण्डारी फाउन्डेशनको स्थापना कालदेखि नै प्रधानमन्त्री केपी शर्मा ओलीले फाउन्डेशन मार्फत आफ्नो विचार प्रवाहको कार्य गर्दै आएको छ । साविकको एमाले हुँदा पनि ओलीले आफ्नो गुटलाई एकीकृत र एकताबद्ध बनाउन यो फाउन्डेशनको प्रयोग गर्दै आएका थिए ।
पार्टी एकता पछि बनेको नेकपामा अन्तविरोध बढ्दै गएपछि ओलीले फाउन्डेशन मार्फत आफ्नो गुटलाई सक्रिय बनाउदै आएको छ । हाल पार्टी फुटेपछि पूर्व एमाले एवं जवज मान्ने जति एकठाउँमा हुनुपर्छ भन्दै अभियाननै सञ्चालन गरिरहेको छ ।
यस अवस्थामा फाउन्डेशनलाई ५० लाख रुपैयाँ अनुदान दिनु राज्यकोषको दुरुपयोग मात्र होइन, ओलीले आफ्नो शक्तिको दुरुपयोग गरेको समेत ठहर्छ ।