२९ पौष २०७७
काभ्रे । प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिरक्षामा साईबर सेना निर्माण गरेको खुलासा भएको छ । पछिल्लो चरणमा ओलीले संसद विघटन गरेर निर्वाचनको घोषणा गरेपछि सर्वत्र विरोध हुन थालेको भन्दै प्रतिरक्षाको लागि साईबर सेना निर्माण गरेको स्रोतले बताएको छ ।
सबै राजनीतिक दल, नागरिक समाज, पत्रकार, मानवअधिकारवादी, पूर्व प्रधानन्यायधिस, वकिल, किसान, मजदुरले ओलिको कदमलाई असंवैधानिक मात्र होइन, निरंकुशतन्त्रको संज्ञा दिंदै आएको छ । राष्ट्रिय राजनीतिक घट्नाक्रमले ओली एक्लीएपछि गोयबल्स शैलीमा प्रचार गर्नका लागि साईवर सेना निर्माण गर्नुपरेको बताइएको छ ।
साइबर सेनाको सम्पूर्ण जिम्मेवारी प्रेस संगठन, नेपालका सह–संयोजक गणेश बस्नेतलाई दिंदै उनलाई कमाण्डर तोकिएको स्रोतले जानकारी दिएको छ । उनको कमाण्डमा पूर्व प्रेस चौतारीको ओली निकट नेताहरु लागेको बताइएको छ ।
साईबर सेनाले मुख्यतः विभिन्न अनलाईन पत्रिका, सामाजिक सञ्जाल फेसबुक, ट्वीटर, टिकटक लगायतलाई प्रयोग गरिरहेको छ । सह–संयोजक बस्नेतले सञ्चालन गरेको एक अनलाईनले निरन्तर झुट्टा समाचार संप्रेसन गरेर कमाण्डरको भूमिका खेल्दै आएको छ । प्रचण्ड नेपाल पक्षका नेताहरुलाई खुइल्याउने र ओलीको भक्तिगान गाउने बाहेक बस्नेतले सञ्चालन गरेको अनलाईनले समाचार सामाग्री नै बनाउँदैन । त्यसै समाचारलाई केही अनलाइन पत्रिकाले साभार गरी प्रचार गर्ने कार्यहरु भइरहेको छ ।
सूर्य थापाले निर्धारण गर्छन कतिखेर कुन सामाग्री बाहिर ल्याउने
यसैबीच कतिखेर कुन सामाग्री बाहिर ल्याउने हो यी सबैको निर्धारण र विषयवस्तु निर्धारण गरेर सामाग्री तयार गर्ने काम प्रधानमन्त्रीको प्रेस सल्लाहकार सूर्य थापाले गर्ने गर्छन् । कुन नेताको विषयमा कस्तो सामाग्री बनाउने र प्रचारमा लाने काम थापाले निर्धारण गरेपछि फेसबुक म्यासेन्जर मार्फत सबै ‘साईबर सेना’लाई पठाउँछ र त्यहीं सामाग्रीलाई अनलाइन पत्रिका र सामाजिक सञ्जालहरुमा पोष्ट गर्ने गर्छन् । त्यसको सम्पूर्ण जिम्मा बस्नेतले लिएका छन् ।
नेपाल–प्रचण्ड पक्षलाई राक्षसीकरण र ओलीलाई देवत्वकरण गर्ने सामाग्री मात्र उनीहरुले तयार गर्ने गर्छन् । पार्टी विभाजनको मुख्य कारण नै यीनै साइबर सेना रहेको पनि विश्लेषण गर्न थालेको छ ।
गणेश बस्नेतको नेतृत्वमा ७७ जिल्लामा साइबर सेना परिचालित
साइबर सेनामा मुख्यतः पत्रकार भन्दा पनि पार्टी कार्यकर्ताहरुलाई लगाएको छ । पत्रकार संगठनमा रहेकाहरुलाई समाचार सामाग्री बनाउन लगाउँछन् भने पार्टी कार्यकर्ताहरुलाई बस्नेतले पठाएको सामाग्री पोष्ट गर्न निर्देशन दिने गर्छन् । ७७ जिल्लामै उनीहरुले साईबार सेना गठन गर्ने लक्ष्य राखिएता पनि राजधानी काठमाडौं, पोखरा, विराटनगर, दिपायल लगायतका स्थानहरुलाई मुख्य प्रसारण केन्द्र बनाइएको छ ।
केन्द्रबाट कमाण्डरले पठाउने सामाग्री मात्र होइन, केपी ओलीको बचाउको लागि जे सामाग्री पोष्ट गर्न सक्छ, त्यसै गर्न निर्देशन दिने गरेको बुझिएको छ ।
बस्नेतको निर्देशन अनुसार आधा–आधा घण्टामा राजनीतिक, सामाजिक वैरभाव फैलाउने, अराजक खालको सामाग्री बनाई पोष्ट गर्ने गरेको पाइन्छ । कसैको दिनभरि डिउटी हुन्छ भने, कसैको रातभरि डिउटी हुने गरेको पाइएको छ ।
पार्टी फुटाउन साइबर सेना सक्रिय
पार्टी फुटाउन प्रमुख भूमिका नै साईबर सेनाले खेलेको थियो । पार्टी भित्र अन्तरविरोध चर्किदा आगोमा घिउ थप्ने र निरन्तर ओलीको कमजोरीलाई ढाकछोप गर्ने काम गर्थे । त्यति मात्र होइन, ओलीलाई भगवान र ओलीलाई आलोचान गर्ने नेता जति राक्षस हुन् भन्ने सन्देश दिने प्रकारको सामाग्री पोष्ट गर्थे । हाल पनि यस्तै प्रकारले पोष्ट गरिरहेका छन् ।
सूर्य चिन्ह र जवज मुख्य हतियार
यतिखेर साईबर सेनाको मुख्य हतियार सूर्य चिन्ह र जवज बनेको छ । प्रधानमन्त्रीले चालेको कदम लोकतान्त्रिक भएको, आधिकारीक पार्टी ओली समूह नै हो भनेर लेखिरहेका छन् । प्रचण्ड नेपाल पक्षका नेताहरुको चरित्र हत्या गर्ने देखि ओलीले प्रचण्ड नेपालको विरुद्धमा गरेको निकृष्ट आलोचनालाई साइबर सेनाले सामाजिक सञ्जालमा पोष्ट गरिरहेका छन् ।
सूर्य चिन्ह र जवज मान्ने जति एक ठाउँमा बस्नुपर्छ भनेर फकाउन समेत उनीहरु लागिरहेका छन् ।

Comments

comments