१ माघ २०७७
काभ्रे । सरकारद्वारा प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीले आगामी माघ १० गते नेपाल बन्द घोषणा गरेको छ । पार्टीको केन्द्रीय समिति सचिवालयका सदस्य धर्मेन्द्र बास्तोला ‘कञ्चन’ को गिरफ्तारीविरुद्ध नेपाल बन्द लगायतका संघर्षको कार्यक्रम घोषणा गरेको हो ।
नेकपाका महासचिव विप्लवले बिहीबार वक्तव्य जारी गर्दै गिरफ्तार विरुद्ध संघर्षको कार्यक्रम घोषणा गरेको छ । सामाजिक दलाल पुँजीवादी केपी वली सरकारले सञ्चालन गरेको गिरफ्तारी तथा दमनका विरुद्ध पूर्ण तागत र सचेतताका साथ सङ्घर्षमा अगाडि बढ्न पार्टी पङ्क्ति र श्रमिक जनतालाई वक्तव्य मार्फत निर्देशन पनि दिएका छन् ।
महासचिव विप्लवले वली सरकार र राज्यलाई क्रान्तिकारी पार्टी, नेता–कार्यकर्तामाथिको दमन बन्द गर्न, गिरफ्तारीमा परेका नेता–कार्यकर्तालाई मुक्त गर्न साथै एकीकृत जनक्रान्तिलाई राजनीतिक विषयका रूपमा आत्मसात गर्न पनि आग्रह गरेका छन् । उनले राज्यको फासिस्ट दमनले न्यायपूर्ण सङ्घर्ष कहिल्यै नरोकिने, बरु त्यसले एकपछि अर्को उचाइ पकड्दै गएर एक दिन दमनकारी राज्य र यसका सञ्चालक नै समाप्त हुने सत्य पनि स्पष्ट पारेका छन् । वली सरकारलाई चेतावनी दिँदै उनले वक्तव्यमा भनेका छन्, ‘केपी सरकारले बेलैमा यसलाई बुझोस् भन्ने हाम्रो चेतावनी छ ।’
‘कमरेड कञ्चनलगायत कमरेडहरूको गिरफ्तारीविरुद्ध’ शीर्षकमा महासचिव विप्लवद्वारा जारी वक्तव्यमा भनिएको छ, ‘२०७७ साल पुस २९ गते दिउँसो ३ बजे हाम्रो पार्टीका केन्द्रीय समिति सचिवालयका कमरेड कञ्चनलाई सामाजिक दलाल पुँजीवादी केपी वली सरकारले पार्टी काममा खटिरहेको बेला ललितपुरबाट गिरफ्तार गरेको छ । उहाँसँगै ब्युरो सदस्य कमरेड विवेक र कमरेड विशाललाई पनि पुलिसले गिरफ्तार गरेको छ । सर्वप्रथमतः हामी कमरेड कञ्चनलगायत कमरेडहरूको गिरफ्तारीको कडा विरोध एवम् घोर भत्र्सना गर्दछौँ ।’
महासचिवको वक्तव्यमा अगाडि भनिएको छ, ‘जनताको अधिकारको हनन, भ्रष्टाचार, दलाली, कमिसनखोरी, तस्करी, राष्ट्रघातका विरुद्ध सङ्घर्ष गरिरहेको पार्टीका नेता–कार्यकर्तालाई खोजी–खोजी गिरफ्तार गर्नु, हिरासतमा निर्मम यातना दिनु, जेल हाल्नु, लाखौँ धरौटी तोक्नु कुनै पनि राजनीतिक व्यवस्थाको सामान्य मान्यतालाई समेत धज्जी उडाउनु हो । यो निरंकुश, तानाशाही एवम् फासिस्ट प्रवृत्ति हो । यसखालको दमनका विरुद्ध आवाज उठाउन सबै राजनीतिक पार्टी, बुद्धिजीवी र आमनागरिकहरूलाई हामी विशेष अपिल गर्दछौँ । साथै हाम्रो पार्टीपङ्क्ति र श्रमिक जनतालाई गिरफ्तारी तथा दमनका विरुद्ध पूर्ण तागत र सचेतताका साथ सङ्घर्षमा अगाडि बढ्न निर्देशन गर्दछौँ ।’
नेकपाले सचिवालय सदस्य कञ्चनलगायत नेताहरूको गिरफ्तारीविरुद्ध सार्वजनिक गरेको सङ्घर्षको कार्यक्रम यस्तो छः
२०७७ माघ ३ गते देशव्यापी विरोध जुलुस
२०७७ माघ ५ गते देशव्यापी विरोध सभा
२०७७ माघ ७ गते देशव्यापी विरोध प्रदर्शन
२०७७ माघ ९ गते देशव्यापी मशाल जुलुस
२०७७ माघ १० गते नेपाल बन्द

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।





















