४ माघ २०७७
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशलाई निरंकुशताको ठाउँमा पुर्‍याउने डरलाग्दो षडयन्त्र भइरहेको बताएका छन् ।
आइतबार प्रचण्ड–माधव पक्षीय अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियनको उपत्यकास्तरीय भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले देशलाई निरंकुशताको ठाउँमा पुर्‍याउने डरलाग्दो षडयन्त्र भएको बताए ।
यसका लागि शाकाहारी आन्दोलनले नपुग्ने प्रचण्डको भनाइ छ । यस्तो षडयन्त्रको विरुद्ध आक्रमक आन्दोलन गर्नुपर्ने उनको भनाई छ । प्रचण्डले विद्यार्थीहरुलाई आफूहरुको आन्दोलन आवेगमय हुनुपर्ने बताए ।
‘शाकाहारी आन्दोलनले पुग्ने देखिएन । हाम्रो आन्दोलन अब आवेग, आक्रोश र आक्रामण हुनुपर्‍यो । बाघ र सिंह गर्जेको जस्तो हुनुप पर्‍यो । प्रतिक्रान्तिकारीहरुको मुटु थर्किनुपर्‍यो, हल्लिनुपर्‍यो, उनले भने, ‘रातदिन केही नभनेर हामी केही समय केपीको प्रतिगमनकारी कदमविरुद्ध सशक्त भएर खडा हुनुपर्छ । नत्र उनले टेर्नेवाला छैनन् ।’
उनले माघ ९ गते जनप्रदर्शनमा आफू अग्रभागमा उभिने पनि बताए । उनले भने, ‘९ गते हामी सशक्त रुपमा जाने सोचेका छौं । आन्दोलनको अग्रपंक्तिमा हामी हुन्छौं । हिजो गिरिजाबाबु, माधव नेपाल र झलनाथहरुले लाठी खाएजस्तै मेरो टाउको चिलाइरहेको छ । मलाई लाठी खान मन छ यसपटक ।’
यस्तै जनताले सडकबाटै ठूल्ठूला फैसलाहरु गरेको इतिहास स्मरण गराउँदै बरु मर्न तयार रहेको तर झुक्न नसकिने प्रचण्डको भनाइ छ । ‘इतिहासको निर्माता जनता हो, अरु कोही होइनन् । जनताले सडकबाटै ठूल्ठूला फैसलाहरु गरेका छन् । जनताले सडक संघर्षबाट ठूल्ठूला तानाशाहहरुलाई गलहत्याएको छ । राजा महाराजाहरुको श्रीपेजहरु निकालेर फुटबल खेलेको इतिहास छ । त्यसैले आक्रमक र जुझारु ढंगले जाने गरी कार्यक्रम बनाउनुस् । हामी नेतृत्व गर्न लास्टसम्मै तयार छौं । देशलाई प्रतिक्रान्तिको भड्खालो, अँध्यारोमा हालेको हेर्न सकिँदैन, सकिन्न । हिजो पनि मर्न हिँडेका हौं जरुरी पर्छ भने मर्न तयार तर झुक्न तयार छैनौं ।’ –प्रचण्डले भने ।
सर्वोच्च अदालत र निर्वाचन आयोगमा सेटिङ भएको भन्ने आफुहरुले आशंका नगरेको भएपनि प्रधानमन्त्री ओलीको सेटिङमा भने शंका भएको उनले बताए ।
‘एउटा शब्द खुब सुनिन्छ आजभोलि सेटिङ । यो डरलाग्दो शब्द छ अहिले । केपीका मान्छेले भन्दै हिँडेका छन् । म अदालतमाथि शंका गर्न चाहन्न तर ओलीको सेटिङलाई शंका गर्न पाइयो नि । हामी निर्वाचन आयोगलाई शंका गर्न चाहँदैनौं । तर ओली र ओलीको निकटका मान्छेले सेटिङ भइसक्यो भन्दै हिँडेकोलाई त शंका गर्न पाइयो नि ।’ उनले भने ।
फरक प्रसंगमा ओली समूहमा लागेर मन्त्री भएका तत्कालीन माओवादीका नेताहरुप्रति लक्षित गर्दै आफूबाहेक एक जना पनि नभएकालाई पार्टीमा ल्याएर स्थायी कमिटीमा लगेको तर, मन्त्री हुन दौडिएको उनले बताए ।
‘नयाँ जोगीले धेरै खरानी घस्छ भन्छन् । यति धेरै खरानी घसेका छन् कि मैले त अनुहार नै चिन्न छाडेको छु,’ प्रचण्डले भने ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।